
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका ९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ ।
गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १०० श्रमिकलाई कोषमा आवद्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष संजीव श्रेष्ठले जानकारी दिए ।
आगामी आर्थिकवर्ष देखि गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत कोषमा आवद्ध गराउन बजेट छुट्याइएको उनको भनाइ छ । श्रेष्ठका अनुसार गाउँपालिकाभित्र ५५ जना महिना स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत छन् ।
अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १८० र गाउँपालिकाले १ हजार १४ रुपैयाँ दुई हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
कोषमा श्रमिकलाई आबद्ध गराउन यो वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी वर्ष स्वयंसेवीकाहरुका लागि थप बजेटको व्यवस्था गरेको उनको भनाइ छ ।
वडाले प्रमाणित गरेर पठाएका अनौपचारिक क्षेत्रका श्रमिकहरुमध्ये हरेक वर्ष १०० जनाका दरले कोषमा आवद्ध गराउँदै लैजाने पालिकाको योजना रहेको पनि उनले सुनाए ।