
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेसनको ५८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कर्पाेरेसनको संचालक समितिका अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीति उपर छलफल गरी पारित गरेको कर्पाेरेसनले जानकारी दिएको छ ।
कर्पोरेशनको कारोवारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले २०८०/८१ को कारोवार समष्टिगतमा मूल्यांकन गरी व्यापारिक कारोवार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको अवगत गए । नून, खाद्य बस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बराबरको बराबरको कारोवार गरेको जानकारी दिए । कर्पोरेशन उक्त बर्ष १ अर्ब द्ध करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ ।
सभाले २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । साथै, सुनकोशी नदी लगायतमा आएको भीषण बाढीले जन धनको व्यापक क्षति पुर्याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरुका तर्फबाट समेत ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरुमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तर दायित्व समेत वहन गरेको अध्यक्ष श्रेष्ठले बताए ।
कर्पोरेशनले सरकारवाट प्राप्त अनुदानमा आवश्यक मात्रामा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैरअनुदानित रासायनिक मल एमुनियक सल्फेट र सिगल सुपर फस्फेट मल कृषकहरुलाई उपलब्ध गराउदै आएको छ ।
अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुक भर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न नबीनतम एवम सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरणतर्फ उन्मुख रहेको बताए ।