Odapalika - The Fourth Estate - चौथो अंग
बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच सुरू, कुन कुन पालिका हुन् ती ?

काठमाडौँ । सुकुम्बासी समस्या समाधान आयोगले बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच सुरु गरेको छ ।

आयोगले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा गग्गा नापजाँच सुरु भएको हो ।

सुकुम्बासी समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले लगत संकलन भइसकेको स्थानमा जग्गा नापजाँचको काम सुरु भएको जानकारी दिए । उनले कोहलपुर नगरपालिकाको ७, ९ र १३ वडाहरु, बैजनाथ गाउँपालिकाको ७, जानकी–५, खजुरा–६ र राप्तीसोनारी गाउँपालिकाको ३, ४, ७ वडाहरुमा जग्गा नापजाँचको काम भइरहेको बताए ।

अध्यक्ष खनालले नेपालगञ्जमा काम सुरु भइसकेको बताउँदै डुडुवा र नरैनापुर गाउँपालिकामा लगत सङ्कलन कार्य भइरहेको जानकारी दिए ।

अहिलेसम्म जिल्लाभर ५३ हजार ७३० कित्ता जग्गाको लगत सङ्कलन भएको छ । यसअघि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगमा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकामा १२ हजार ५२३, बैजनाथमा १० हजार ११२, नेपालगञ्जमा तीन हजार ४२, नरैनापुरमा दुई हजार ३४५ र जानकीमा दुई हजार ८१० कित्ता नापजाँचका लागि निवेदन परेको थियो । 

आयोगका अध्यक्ष खनालले दलित भूमिहीनतर्फ तीन हजार ६८१ कित्तामध्ये ८३९ कित्ता वास्तविक कित्ता भएको र त्यसलाई वडा कार्यालयबाट प्रमाणीकरण गरेको उल्लेख गर्दै भूमिहीन सुकुम्बासीतर्फका ६ हजार ७९८ कित्ता रहेको बताउनुभयो । बाँकेमा ४३ हजार २२६ कित्ता जग्गामा अव्यस्थित बसोबासी छन् । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update