
काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ ।नगरपालिका आफैँले बस खरिद गरेको छ ।
नगरपालिकाले चैत २४ गतेदेखि नगरबस सञ्चालनको तयारी गरिरहेको जनाएको छ । दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जिल्लामा दशरथचन्द नगरबस सञ्चालन गर्ने पहिलो नगरपालिका बन्ने बताए ।
नगर प्रमुख पुष्करराज जोशी चुनावी प्रतिबद्धता अनुसार नगरबस सञ्चालन गर्न लागेको बताए । बस सञ्चालनमा आएपछि पालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने उनको भनाइ छ ।
बस बोलपत्र आह्वानमार्फत ४३ लाख ९८ हजार २२० रुपैयाँमा खरिद गरिएको हो । न्यूनतम भाडामा सतबाँझ–झुलाघाट नियमित रूपमा सेवा दिनेगरी नगरबस सञ्चालन हुनेछ । यसका साथै नगरका अन्य वडामा पनि साताको एक दिन सेवा दिनेगरी सञ्चालनको तयारी भइरहेको छ ।