
काठमाडौँ । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन आज मध्यरातबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारको यो निर्णयसँगै आजबाट विधेयक अधिवेशनका रुपमा रहेको हिउँदे अधिवेशन समापन हुँदैछ । अब सरकारले केही दिनमै बजेट अधिवेशन डाक्न सिफारिस गर्नेछ ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।