Odapalika - The Fourth Estate - चौथो अंग
इतिहासमै पहिलोपटक थाइल्याण्ड जाँदै नेपालका प्रधानमन्त्री, के हुँदैछ त्यहाँ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन मङ्गलबार बैंकक जाँदैछन् ।  

सन् १९५९ मा नेपाल र थाइल्याणबीच कुटनीतिक सम्बन्ध गासिएको थियो । सम्बन्ध गाँसिएको ५६ वर्ष भए पनि नेपालका प्रधानमन्त्रीले अहिलेसम्म सो देशको भ्रमण गरेका थिएनन् । थाइ प्रधानमन्त्री भने एकपटक विमस्टेकमै सहभागी हुन नेपाल आएका थिए । त्यसवाहेक दुइदेशबीच उच्चस्तरीय भ्रमण भएको छैन । यसअर्थमा पनि प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ । 

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो १३ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सबै आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ । प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा आज सङ्घीय संसद्का दुवै सदनलाई औपचारिक जानकारीसमेत गराइसकेकय छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्  । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।

थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले चैत २१ गते बिहान त्यहाका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गनैछन् । सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन कार्यक्रम छ । शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म ‘साइडलाइनण्द्दज्ञड वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना छ । 

सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनेछन् । सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना छन् । प्रधानमन्त्री नेतृत्वको टोली चैत २३ गते स्वदेश फर्किनेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update