
काठमाडौँ । धेरै भएकै छैन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष र त्यसका नेता कार्यकर्ताप्रति लक्षित गर्दै एमालेका नेता (शीर्ष नेतासमेत) भन्थे– माधव नेपालहरुको नाम लिदा पनि मुख कुल्ला गर्न मन लाग्छ ।
एमालेजनहरुले यसो भनेको धेरै भएकै छैन । देश दुनियाँलाई थाहा छ साढे ३ वर्षअघि एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेदेखि एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच पानी बारावार जस्तै छ ।
उपचारका क्रममा निधन भएका बरिष्ठ पत्रकार तथा नेकपा एसका प्रमुख सल्लाहकार कमल कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली नेकपा एकको कार्यालय आलोकनगर पुगे । स्वर्गीय कोइरालाको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गरेपछि तय भयो राजावादी आन्दोलनकारीले तोडफोड गरेको केन्द्रीय कार्यालयको अवलोकन ।
पानी बाराबारको अवस्थामा रहेका प्रधानमन्त्री ओली र भुपूप्रधानमन्त्रीद्धय नेपाल र झलनाथ खनालसहितका नेताहरु कार्यालयको माथिल्लो तलामा अवलोकन गर्दै थिए ।
क्षतिग्रस्त भवन देखेपछि प्रधानमन्त्री ओलीले आश्वासन दिए– यो क्षतिको विवरण टिपाउनुहोला, म भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीलाई भनेर मर्मत गर्ने व्यवस्था मिलाउँला ।
प्रधानमन्त्री ओलीले यसो भनिरहदा एसका नेताहरु ‘हुन्छ’ शैलीमा टाउको हल्लाउँदै थिए तर नेताहरुका पछाडिवाट एउटा आवाज आयो– अब यो कार्यालय बनाउने भन्दा पनि च्यासलतिरै अलि चाँडै सार्ने होला हौँ ।
ती कार्यकर्ताले नेकपा एसलाई पुनः नेकपा एमालेमा विलय गराउने आशयले अभिव्यक्ति दिएपछि शोक व्यक्त गर्न पुगेका नेताहरुले हाँसो थाम्न सकेनन् ।
‘ओली र माधव कमरेडले भने उहाँहरुकै चिरपरिचित हल्का मुस्कानमात्र दिनुभयो, कुनै प्रतिकृया दिनुभएन,’ अवलोकनको तस्वीर कैद गरिरहेका एक कार्यकर्ताले वडापालिकासँग भने, ‘प्रधानमन्त्रीसँगै रहेका अरु कार्यकर्ता र नेकपा एसका नेताहरु भने मज्जाले हाँसे ।
प्रधानमन्त्रीले कार्यालय बनाइदिने आश्वासन दिएको भएर हो या नेकपा एसको पार्टी कार्यालय प्रवेश गरिदिएको खुसीयालीमा हो नेकपा एसका नेता तथा पूर्वमन्त्री प्रकाश ज्वालाले त्यसपछि हत्तारिएर फेसबुकमा ओली, नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेताको फोटो राखेर लेखेका छन्– आइस ब्रेक !