
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कमलपोखरीलाई रातमा उझ्यालो बनाउन, बर्खाको पानी पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न र सौन्दर्यले मनमोहक बनाउन विभागहरुलाई निर्देशन दिएकी छन् ।
कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेको कामको अनुगमन गर्दै उनले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका अधिकारीहरुलाई निर्देशन दिएकी हुन् । पोखरी वरिपरि राखिएका चैत्य, विभिन्न स्थानमा राखिएका मूर्तिहरुमा आगन्तुकले क्षति गरेको देखेपछि उनले सिसिटिभी क्यामरामार्फत अनधिकृत क्रियाकलाप निगरानी गर्ने प्रबन्ध गर्नुपर्ने बताइन् ।
अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले उपभोक्ताको अपेक्षाअनुरुप सार्वजनिक स्थलहरुलाई प्रयोगमैत्री बनाउन प्रयास गरिएको उल्लेख गरे । पोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रुपमा विकास गर्ने गुरुयोजना अनुरुप कमलपोखरी पुनःनिर्माण भइरहेको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको हो । दोस्रो चरणमा पोखरीको सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यो कामको ठेक्का सम्झौता रकम ३ करोड ६ लाख ८ हजार ११ रुपैयाँ हो ।
गत १९ भदौमा कार्यादेश दिइएको यो योजना आउँदो २०८२ साउन १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । यो योजना सार्वजनिक निर्माण विभागबाट कार्यान्वयनमा आएको हो । यस्तै टयाक्टिकल अर्वनिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य) का लागि उद्यान तथा हरियाली आयोजनाले काम गरिरहेको छ ।
पार्क, साविकमा प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । सिमाना पर्खालबाहिर टयाक्टिकल अर्वनिजमअन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदल यात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, विरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भइरहेको छ ।
आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार यस वर्ष टयाक्टिकल अर्वनिजमका लागि करिब २ करोड रुपैयाँ लागतमा करिब ३२ ठाउँमा काम भइरहेको छ । यो काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यसअन्तर्गत कमलपोखरीका चार कुनामा कमल रोप्ने र माछा राख्ने काम हुनेछ ।
पोखरी वरिपरि साँझ विहान हिँड्न प्रकाशका लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरिसकेको छ । वडा नं. १ का सचिव सर्वज्ञराज पौडेलले पोखरीको सुन्दरता र सुरक्षाका लागि नियमित विद्युत आपूर्ति प्रबन्ध गर्न लागिएको जानकारी दिए ।
पोखरीका चार ओटा हरेक कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मुलढोकासँगै एउटा ठुलोसहित पोखरी वरिपरि ५ वटा मण्डप छन् । पोखरी छिर्ने गेटलाई परम्परागत नेपाली शैलीको छ । पोखरी निर्माण गर्दा नेपाली इट्टा र दर्शन ढुङ्गा प्रयोग गरिएको छ ।