
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले १०३ दिन भन्दा लामो रस्साकस्सीपछि पुनः कार्यभार सम्हालेलगत्तै उनलाई हटाएर नयाँ हाकिम ल्याउने चलखेल सुरु भएको छ ।
मेयर बालेन साहको चरम विमतिबीच उपमेयर सुनिता डंगोल, अधिकांश वडाका अध्यक्ष र कर्मचारीको प्रयासमा गुरागाईले हिजोबाट हाजिर गरेर काम थालेका छन् ।
लामो समयदेखि रोकिएको कर्मचारीको तलवसहितका सबै आर्थिक गतिविधि आजबाट सुरु भइसकेको महानगरले जनाएको छ ।
गुरागाइँले काम थालेलगत्तै मेयर बालेन र उनी समर्थित जनप्रतिनिधिहरु गुरागाईलाई हटाएर गृह मन्त्रालयमा कार्यरत सहसचिव प्रेम प्रसाद भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने अभियानमा जुटेका छन् ।
उनीहरुले राजनीतिक शक्तिकेन्द्रमार्फत मन्त्रिपरिषदबाट गुरागाईको सरुवा गराएर सो स्थानमा भट्टराईलाई ल्याउने कसरत थालेको महानगर श्रोतको दाबी छ ।
मेयर वालेनले काठमाडौँ टावरको नक्सापास विवाद सुरु भएलगत्तैबाट गुरागाईलाई हटाएर भट्टराईलाई भए पनि पठाइदिन लविइङ गरिरहेका थिए ।
तर महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि सिफारिस गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बालेन प्रस्तावप्रति सकारात्मक नबन्दा हालसम्म यो प्रयास सफल हुन सकेको छैन ।
ताप्लेजुङको पाथिभरा क्षेत्रमा केवलकार बनाउन नदिने भन्दै थालिएको आन्दोनका आन्दोलनकारीसँग बार्ता गर्न गठित सरकारी टोलीका संयोजकसमेत रहेका भट्टराई हाल गृह मन्त्रालयको अतिरिक्त समूहमा छन् । हाल उनी घर बिदामा विराटनगरमा छन् ।
यता संघीय मामिला मन्त्रालयले भने बिहीबारबाट गुरागाईंले पदीय जिम्मेवारी सम्हालिसकेको भन्दै तत्काल उनको स्थानमा अरुलाई नपठाउने अडानमा छ ।
‘हिजोबाट हाजिर गर्नुभएको हाकिमसा’व (प्रमुख प्रशासकीय अधिकृत)लाई हटाउने कुरा नै हुँदैन, उनको स्थानमा अरु कसैलाई पठाउने विषयमा मेरो र मन्त्रालयको सिफारिस या सहमति रहने छैन,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वडापालिकासँग भने ।
उनले पछिल्ला दिन जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत रोज्ने, मन नपरेकालाई हाजिर नगराउनेजस्ता काममा अग्रसर भएको भन्दै आफुले यसलाई रोक्न र थिति बसाउन चाहेका कारण पनि गुरागाईंलाई हटाएर भट्टराई या अरु कसैलाइ पठाउने विषयमा आफ्नो सहमति नहुने बताए ।
केवलकार विरोधी समूहसँग ६ वुँदे सहमतिपछि थप जिम्मेवारीमा नरहेका भट्टराईले विभिन्न जिल्लाको सिडिओको जिम्मेवारी सम्हालिसकेका छन् । उनी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकसमेत भइसकका व्यक्ति हुन् ।
काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न लागेको हो भन्ने वडापालिकाको जिज्ञसामा उनले भने, ‘मेरो व्यक्तिगत चाहना होइन, सरकारले पठाए नाइ भन्दिन ।’