
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विद्यालय शिक्षा र संघीय निजामती ऐन विधेयक चाँडै पारित हुने दाबी गरेका छन् ।
करिब एक दशक देखि अलपत्र रहेका यी विधेयकहरुमा करिब १८ सय उपदफाहरुमा दफाबार छलफल भएको पनि मन्त्री गुप्ताले बताए । यसअघि मन्त्री गुप्ता संघीय निजामती सेवा विधेयक संसदको विधेयक अधिवेशनबाटै पारित हुने दाबी गरिरहेका थिए । तर उपसमितिले राज्यव्यवस्था समितिमा सहमतिको प्रतिवेदन बुझाउनुबाहेक यो अवधिमा विधेयकमा कुनै प्रगति भएन ।
पर्साको वीरगञ्जमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुप्ताले आउँदो १२ बैशाखपछि सुरु हुने संसदमा ३ वटा विधेयकहरु पारित हुने बताए ।
उनले नेपाल प्रहरीसँग सम्बन्धी विधेयक पनि प्रस्तुत हुने उनको भनाई छ । सरकारले ३ वटैै विधेयक बहुमतले पारित गर्नेमा आफु पनि आशावादी रहेको मन्त्री गुप्ताले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले बिभिन्न प्रतिक्रियावादी शक्तिहरु सलबलाउन थालेकोले नेपाली जनताले त्यस्ता तत्वहरुलाई तह लगाउने चेतावनी पनि दिए ।
सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुप्ताले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी भएको उल्लेख गरे ।
राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रूपमा समापन भएको तर्क गर्दै मन्त्री गुप्ताले भने, ‘कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।’