Odapalika - The Fourth Estate - चौथो अंग
तेस्रोपटक नाम फेर्ने गृहकार्यमा स्थानीय सरकार, स्वादिलो नाम अझै जुरेन  

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेको छ । राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नाम परिवर्तन गर्ने तयारी गरिएको हो ।  

नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् । 

१५ वटा वडा रहेको यो नगरपालिका जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो । नगरपालिकाको नाम यसअघि दुईपटक परिवर्तन गरिसकिएको छ । सुरुमा दिक्तेल नगरपालिकाको नामले स्थापना भएको यो नगरपालिका देशमा सङ्घीयता लागू भएसँगै स्थानीय तहको नामकरण गर्ने क्रममा रुपाकोट मझुवागढी नगरपालिका बनाइएको थियो ।

अहिलेको नाम (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) लामो भएको जनगुनासो आएकाले सर्वदलीय तथा सर्वपक्षीय छलफल एवं बैठकमार्फत सहमतिमा छोटो बनाउने उद्देश्यसहित नाम परिवर्तनको प्रस्ताव गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए । 

२०७४ सालमा पहिलोपटक भएको स्थानीय तहको निर्वाचनपछि तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल नेतृत्वको जनप्रतिनिधिले रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि दिक्तेल थपेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बनाएको थियो । अब कुन नाम अनितम गर्ने भन्ने विषय छलफल गरेर टुंगोमा पुग्ने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update