
काठमाडौँ । निर्वाचित भए लगत्तै प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोधेर विवादमा आएका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी पुनः विवादमा तानिएका छन् ।
अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षलाई कार्यवाहक अधिकार दिनुपर्ने कानुनी व्यवस्थालाई वेवास्ता गर्दै वडाअध्यक्षलाई कार्यवाहक दिएपछि उनी विवादमा आएका हुन् ।
उपनिर्वाचनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका माझीले उपाध्यक्ष हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएका छन् ।
अदालतले यस अघि नै वडा अध्यक्षलाई कार्यवाहक दिएका विभिन्ना पालिकाका प्रमुखको विरुद्व दायर भएका रिटमा वडा अध्यक्षलाई कार्यवाहक दिन रोक लगाए पनि माझीले भने वडाअध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।
चीन भ्रमण जानुअघि उनले आफुसँग समन्वयसमेत नगरी कार्यवाहक अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिएको उपाध्यक्ष गुणवती देवी थारुकाले बताइन् ।
माझीले वडा नं ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका छन् । भगत पनि माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष हुन् ।
अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने प्रावधान भए पनि उपाध्यक्ष आफ्नो सम्पर्कमै आउन नचाहेकाले कार्यवाहक दिन नसकिएको माझीले दाबी गरेका छन् ।