
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तातकालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद प्रसाद वर्णवालसहितका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट ७९ दशमलव एक कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध ५१ लाख ९९ हजार १२० रुपैयाँ बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको हो ।
आयोगले सागरदेवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको छ । सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ । आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।