
काठमाडौँ । जिविसबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीले समायोजन मितिको पदको मात्र पेन्सन सुविधा पाउने भएका छन् ।
तत्कालीन जिल्ला विकास समिति खारेज भएपछि ती कार्यालयमा स्थायी नियुक्ति भएर कार्यरत कर्मचारीको विभिन्न स्थानीय तहमा समायोजन भएको थियो ।
कर्मचारी समायोजन ऐन २०७५ अनुसार यसरी समायोजन भएर कार्यरत कर्मचारीले अवकास पछि र राजिनामा दिएपछि कहाँबाट र कुन स्केलसम्मको पेन्सन खाने भन्ने अन्योल थियो ।
यसअघि सरकाररले यस्ता कर्मचारीको पेन्सन संघीय सञ्चित कोषबाटै खाने व्यवस्था मिलाएको थियो । तर पेन्सन पाए पनि समायोजन हुँदाको बेला भएको पदअनुसारको पेन्सन खाने कि अवकाश हुँदा कायम पद अनुसारको पेन्सन खाने भन्ने विवाद थियो ।
स्थानीय स्वायत्त शासन ऐनअनुसार नियुक्ति भइ यसरी समायोजन ऐन अनुसार समायोजन भएका कर्मचारीले अब भने समायोजन भएको मितिमा भएको पदअनुसारको मात्र पेन्सन पाउने भएका छन् ।
जस्तो जिविसबाट कुनै कर्मचारी स्थानीय तहमा समायोजन हुँदा नायव सुव्वा थियो तर अधिकृत पदमा कार्यरत रहदा अवकाशमा परेमा या राजिनामा दिएमा उसले अब अधिकृतले पाउने सरहको पेन्सन सुविधा नपाउने भएको छ ।
सरकारको निर्णयअनुसार अब यस्ता कर्मचारीले समायोजन हुँदाकै पद अर्थात नायव सुव्वाले पाउने निवृत्तिभरणको सुविधा मात्र पाउने गरी निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।