
काठमाडौँ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ‘एक घर, एक टनेल’कार्यक्रम सुरु भएको छ । पालिकाको वडा नम्बर ३ मा सुरु भएको यो कार्यक्रमको उद्धेश्य तरकारी खेती प्रवद्र्धन रहेको पाकिकाको भनाइ छ ।
हरेक घरलाई प्लाष्टिकका टनेल दिने र यसवाट तरकारी खेतीमा सजिलो हुने गाउँपालिकाको भनाइ छ । गाउँपालिकाको ‘नेपाल जलवायु अनुकूलन कार्यक्रम’मार्फत १० लाख र वडाले ३ लाख ५० हजार रुपैयाा बजेट विनियोजन गरेर किसानलाई टनेल वितरण गरेको वडाध्यक्ष रामु थापामगर बताउँछन् ।
किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिए । पहिलो चरणमा वडाका १२१ जना किसानलाई टनेल वितरण गरिएको छ ।
किसानलाई कम्तीमा पनि ३ वर्षसम्म अनिवार्य खेती गर्ने सर्तसहित टनेल वितरण गरिएको वडाध्यक्ष थापामगरले बताए ।
प्लाष्टिक टनेलसहित थोपा सिँचाइ, मल्चिङ प्लाष्टिक, पाइप, कीरा मार्ने पासो र आवश्यक बीउबिजन पाएका छन् । किसानलाई प्रविधिमैत्री जैविक खेती प्रणालीमा जोड्न ‘एक घर एक प्लाष्टिक टनेल’को कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राई बताउँछन् ।
गाउँपालिकालाई तरकारीको ‘हब’ बनाउने लक्ष्यका साथ ‘कृषि गुरुयोजना’ बनाएर कृषिमा लगानी गरिरहेको छ । गाउँपालिकाले उत्कृष्ट खेती गर्ने किसानलाई पुरस्कारको व्यवस्था पनि गरेको छ ।