
काठमाडाैँ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । अन्य पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाए पनि मन्त्रालयले अदानचुली गाउँपालिकामा भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेको हो ।
यद्यपि, मन्त्रालयले ताम्रराज काफ्लेलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर सो गाउँपालिका पठाएको थियो । तर, उनी जान नमानेपछि अदानचुली गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो । काफ्ले अहिले परराष्ट्र मन्त्रालयमा कामकाजमा छन् ।
गाउँपालिकाले तोकेका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृतको अधिकार मन्त्रालयले खोसेपछि सो पालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो । गाउँपालिकाले कामु तोकेको प्रमुख प्रशासकीय अधिकृतको अधिकार मन्त्रालयले खोसेपछि पालिकाको आर्थिक अधिकार विहिन भएको छ ।
गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले हंस महतारालाई कामु प्रमुख प्रशासकीय अधिकृत बनाएका थिए । उनी स्वास्थ्यका कर्मचारी हुन् । उनी अधिकृत छैटौं हुन् ।
मन्त्रालयले गत माघ ९ गते देशभरका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृतको अधिकार खोसेको थियो । मन्त्रालयले महताराको अधिकार खोसेर काफ्लेलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो । तर, काफ्ले सो पालिका गएनन् ।
काफ्ले नगएपछि मन्त्रालयले पालिकाका कर्मचारी प्रदीप भण्डारीलाई कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत तोकेको थियो । भण्डारी सातौं तहका अधिकृत हुन् । तर, मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको दिनदेखि नै भण्डारी गाउँपालिकामा सम्पर्क विहिन भएको अध्यक्ष सिंहले बताए ।
‘हामीले तोकेको प्रमुख प्रशासकीय अधिकृत (महतारा) लाई मन्त्रालयले काम गर्न दिएन । मन्त्रालयले तोकेका एक जना प्रमुख प्रशासकीय अधिकृत यहाँ आउनु नै भएन । अर्काे एक जना पालिकाबाट बेपत्ता हुनुभएको छ ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधा रोकिएको मात्रै होइन, यसपालिको बजेट नै फ्रिज हुने सम्भावना बढ्यो । अब २ महिनामा कति काम गर्न पाइएला र,’ अध्यक्ष सिंहले वडापालिकासँग भने ।
उपाध्यक्ष कर्ण रोकाया भने मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर काम गर्नुपर्ने बताउँछन् ।