Odapalika - The Fourth Estate - चौथो अंग
भोलिदेखि सामाजिक सुरक्षा कोषमा आवद्धहरुको युनिभर्सल हेल्थ कभरेज, के–के छन् थप सुविधाहरु ?

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले नयाँ २०८२ देखि योगदानकर्तालाई विशेष सुविधा प्रदान गर्ने भएको छ ।

कोषले योगदानकर्ताका लागि युनिभर्सल हेल्थ कभरेज लागू गर्न लागेको छ । कोषको संचालन कार्यविधि २०७५ को पाँचौं संशोधन गर्दै नयाँ सुविधा थप गरिएको हो ।

नयाँ सुविधा अन्तरगत अब कोषका योगदानकर्ताको छोराछोरीले पनि स्वास्थ्य सुविधा पाउने भएका छन् । यसअघि योगदानकर्ता र उसका पति वा पत्नीले मात्रै कोषबाट स्वास्थ्य सुविधा पाउने व्यवस्था थियो । २०८२ बैशाख १ गतेदेखि योगदानकर्ताका सन्ततीले पनि स्वास्थ्य सेवा पाउने कोषका प्रवक्ता कृष्ण अधिकारीले बताए ।

‘भोलि (१ बैशाख, २०८२) देखि योगदानकर्ताको सन्ततीले पनि स्वास्थ्य सुविधा पाउने छन् । युनिभर्सल हेल्थ कभरेजको अवधारणा अनुसार स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो,’ प्रवक्ता अधिकारीले वडापालिकासँग भने ।

कोषमा आवद्ध भएका योगदानकर्ता र उसको पति वा पत्नीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधी उपचार सेवा पाउने गरेका थिए । यसमा १८ वर्षसम्म उमेरका सन्ततीलाई पनि समावेश गरिएको हो । यद्यपि, औषधी उपचारमा पाइने सुविधा रकम भने एक आर्थिक वर्षको लागि १ लाख रुपैयाँ नै कायम गरिएको छ । यस्तो सुविधा पाउनको लागि विरामी परेका योगदानकर्ता वा उसका पति वा पत्नी वा सन्तती अस्पतालमै भर्ना भएको हुनुपर्छ । अस्पतालमा भर्ना नभई डाक्टरले लेखेको प्रेस्किप्सनका आधार हुने भुक्तानी भने वार्षिक २० हजार रुपैयाँ बराबर मात्रै छ । यो सुविधा पनि अब योगदानकर्ता, यसको पति वा पत्नी र सन्ततीमा लागू हुने भएको छ ।

यस्तै, योगदानकर्तालाई घातक रोग लागेमा त्यसको उपचारको लागि १० लाख रुपैयाँसम्म कोषले व्यहोर्छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका व्यक्तिहरुले कोषबाट औषधी उपचार सुविधा प्राप्त गर्दा अस्पतालको विलमा २० प्रतिशत मात्रै रकम तिरे पुग्छ । बाँकी ८० प्रतिशत रकम भने कोषले भुक्तानी गरिदिन्छ । 

यस्तै, अबदेखि योगदानकर्ता तथा उसका परिवारले कोषबाट १० लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउने भएका छन् । यो पनि नयाँ स्कीम हो ।

तर, यसको लागि केही शर्त भने तोकिएको छ । एक लाख रुपैयाँभन्दा बढीको खर्चमा जति बढी हुन्छ, त्यसको ५० प्रतिशतका दरले हुन आउने रकम बढीमा १० लाख रुपैयाँसम्म कोषले दिने हो । अर्थात कोषमा आवद्ध भएका योगदानकर्ता, उसको पति वा पत्नी तथा सन्ततीको उपचार गराउँदा जम्मा ५ लाख रुपैयाँ खर्च भयो भने पहिलो १ लाख रुपैयाँको लागि कुल खर्चको ८० प्रतिशतसम्म कोषले व्यहोर्छ । त्यसपछिको बाँकी ४ लाखमा २ लाख रुपैयाँ सम्बन्धित व्यक्तिले र २ लाख रुपैयाँसम्म कोषले व्यहोर्ने हो । यसरी कोषले व्यहोर्ने रकम बढीमा १० लाख रुपैयाँसम्म हुन्छ ।

यो सुविधा लिनको लागि कोषमा कम्तिमा ६० महिना नियमित योगदान गरेको हुनुपर्ने शर्त राखिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update