Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकका कर्मचारीले पनि पेन्सन पाउने

काठमाडौँ । सरकारको पनि लगानी रहेका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका कर्मचारीले अबदेखि पेन्सन पाउने भएका छन् ।

अहिलेसम्म उपदान मात्रै पाउदै आएका यी बैंकका कर्मचारीले अब पेन्सन पनि पाउने अवस्था सिर्जना भएको हो ।

नेपाल सरकारले चैत १५ गते गरेको एउटा निर्णयका कारण यी बैंकका कर्मचारीले पेन्सन पाउने अवस्था सिर्जना भएको हो । सरकारले सो मितिमा सरकारको लगानी पनि रहेका यी ३ वटै बैंकका कर्मचारीलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने गरी निर्णय गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताले ६० वर्ष उमेर पुगेपछि पेन्सन पाउँछन् ।

सरकारले चैत १५ गते गरेको निर्णय अनुसार बैशाख १ गते राजपत्रमा सुचना प्रकाशन समेत गरिसकेको छ । सो सुचना प्रकाशन भएपछि यी बैंकमा कार्यरत कर्मचारीले पेन्सन पाउने अवस्था सिर्जना भएको छ । अहिले यी बैंकमा श्रम ऐन नलाग्ने भएका कारण योगदानमा आधारित समाजिक सुरक्षा कोषमा आवद्ध भएका छैनन् भने सरकारले यी बैंकका कर्मचारीको लागि पेन्सनको व्यवस्था गरेको छैन ।

rajpatra-notice-1744701461.jpg
‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोषबाट पारिश्रमिक पाउने (प्रचलित कानून बमोजिम निवृत्तिभरण पाउने बाहेक) व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रुपमा सूचीकृत गरी निजहरुले खाईपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारतूत तलब मानी त्यसको २० प्रतिशत रोजगारदाताबाट र ११ प्रतिशत योगदानकर्ताको तर्फबाट जम्मा गर्नुपर्ने गरी सामाजिक सुरक्षा योजनामा सहभागी गराउने गरी मिति २०८१।१२।१५ मा निर्णय गरेकोले यो सुचना प्रकाशन गरिएको छ,’ सरकारले राजपत्रमा प्रकाशन गरेको सुचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update