
काठमाडौँ । उदयपुरकोे लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले कार्यालय आउँदा हप्तामा २ दिन अनिवार्यरुपमा जातीय वेशभूषा लगाउनुपर्ने नियम बनाएको छ ।
गाउँपालिकाले यो नियम २०८२ सालको बैशाख १ गतेदेखि लागु गर्ने निर्णय गरेको हो । १ महिनाअघि कार्यपालिका बैठकले हप्तामा २ दिन अनिवार्य जातीय पोशाका लगाउनै पर्ने नियम बनाएको हो ।
जातीय पोशाक नहुनेका लागि यो नियम अनिवार्य नभएको पालिकाको भनाइ छ । प्रशासकीय अधिकृत ताराकिरण राईका अनुसार आइतबार र सोमबार जातीय वेशभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने नियम नै बनिसकेको छ।
उनले सार्वजनिक सूचना नै जारी गरेर भनेका छन्, ‘पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवद्र्धन गर्न यस्तो निर्णय गरिएको हो ।’
गाउँपालिकाभित्रका जाति, वेशभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको उनको भनाइ छ ।