Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरकी उपप्रमुख डंगोल ‘ग्लोवल योङ् लिडर्स’मा चयन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् । 

दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन् । त्यसमध्ये नेपालबाट छानिनेमा डंगोलमात्र हुन् । डंगोल यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य थिइन् । 

विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन एकी हुन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन् । 

फोरमले उपप्रमुखको संक्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेभसाइटमा लेखेकोे छ, ‘उहाँ युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’

‘विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ । राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरुसँगको सहकार्यबाट युवाहरुलाई नेतृत्वका लागि प्रोत्साहित हुने काम गरिनेछन्’ चयन भएपछि डंगोलले भनेकी छन् । 

फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १० जना, आर्ट, कल्चर एण्ड स्पोर्टस्बाट ८ जना, व्यापारिक क्षेत्रबाट ४९ जना, नागरिक समाजबाट ११ जना, मिडियाबाट ५ जना, सरकारबाट १९ जना, सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएका छन् । 

सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरुको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो । 

विश्वव्यापी समस्याको सुधार र व्यवहारिक समाधान गर्न प्रतिबद्ध युवा नेताको सहभागिता यसको शक्ति हो । यसले विश्वव्यापी सञ्जाल निर्माण, सामुहिक कार्य र नविनताका लागि कृतिम वौद्धिकता (एआई) सहितका प्रविधिको प्रयोग गरेर नयाँ दृष्टिकोण सिर्जना गर्नेछ । यसबाट परिवर्तनको अपेक्षा गरिएको छ । युवा नेताहरुले परिवर्तन अंगाल्न सक्नेछन् । प्रगतिलाई तीब्र बनाउन काम गर्नेछन् । अरुलाई प्रेरित गर्नेछन् । नेतृत्व चयनका विषयमा फोरम अफ योङ् ग्लोबल लिडर्स फाउन्डेसनका अध्यक्ष निकोल स्वाबको भनाइ छ । 

सन् २००४ मा स्थापना भएको युवा ग्लोबल लिडर्स फोरममा १२० भन्दा बढी देशका १ हजार ४०० भन्दा बढी सदस्यहरु छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update