Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपाः सभापति अमेरिकाबाट आएर ठग्ने, केन्द्रीय सदस्य ठगेर अमेरिका जाने !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य पुकार बमले अध्ययनका लागि अमेरिका जाने हवाला दिदै सर्वसाधारणसँग रकम मागेका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत नेता बमले ‘आफूलाई पैसा दिनु नेपालको भविष्यका लागि लगानी गर्नु हो’ भन्दै आफू नै नेपाल र आफ्नो भविष्य नै नेपालको भविष्य हो भन्ने भाष्य स्थापित गर्ने प्रयत्न गरेका छन् ।

रास्वपामा प्रवेश गर्नुअघि आफूलाई स्वतन्त्र अभियन्ता बताउने बम गत आम निर्वाचनमा प्रतिनिधिसभाको लागि काठमाडौँ–१ बाट पराजित उम्मेदवार समेत हुन् । अमेरिकामा अध्ययनको लागि पैसा चाहियो भनेर उनले सामाजिक संजाल फेसबुकमार्फत नविल बैंकको नयाँ बानेश्वर शाखामा रहेको बैंक डिटेल, स्वीफ्ट कोड र क्युआर कोड पनि सार्वजनिक गरेका छन् ।

pukar-facebook-1744800189.jpg
यतिसम्म कि चन्दा उठाउन उनले आफ्नो डिजिटल वालेटहरु इसेवा र खल्तीमा प्रयोग भएको मोबाइल नम्बर समेत सार्वजनिक गरेका छन् । बमले नेपालमा मात्रै नभएर अमेरिकाको बोस्टर्न, फ्लोरिडा र डल्लास तथा फ्रान्स र न्युजिल्याण्डमा समेत एजेन्ट राखेर पैसा उठाइरहेका छन् । उनले ती एजेन्टहरुको नाम र फोन नम्बर समेत सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनको बेला उनले लुटतन्त्रको अन्त्य नै आफ्नो प्रमुख एजेन्डा हो भनेका थिए । विगतमा सामाजिक अभियान तथा बर्तमानमा राजनीतिक दलसँगको समिप्यताबाट आर्जन गरेको सार्वजनिक ख्यातिलाई नेता बमले सर्वसाधारणसँग पैसा उठाउने माध्यम बनाएका छन् । 

किन उठाउँदै छन् पैसा ?

नेता बमले अमेरिकाको हार्वर्ड विश्वविद्यालयको हार्वर्ड केनडी स्कुलमा ‘मिड करिअर मास्टर्स इन पब्लिक एड्मिनिस्ट्रेसन इडवार्ड म्यासन फेलो’को रुपमा अध्ययन गर्ने अवसर पाएको दाबी गरेका छन् । यही अध्ययनका लागि उनले आफूसँग रकम नभएको भन्दै बैंक डिटेल र विदेशमा एजेन्ट नै राखेर पैसा संकलन गरेका हुन् । अध्ययनको लागि फेलो पाएको दाबी गरेका बमले फेसबुक पोष्टमा भने कहिलेदेखि अध्ययन सुरु हुने, कहिले सकिने, उनी अमेरिका कहिले जाने, कति खर्च लाग्ने, उठाएको रकम के–केमा खर्च गर्ने जस्ता विवरण भने खुलाएका छैनन् । 

गत ५ अप्रिलदेखि फेसबुक मार्फत उनले पैसा माग्न थालेका हुन् । तर आजका दिनसम्म नेता बमले यो अभियानमार्फत आफूले कति रकम जुटाए भन्ने केही खुलाएका छैनन् । प्रतिनिधिसभा निर्वाचनको समयमा पनि उनले यसैगरी चन्दा अभियान चलाएका थिए । पुकारबम डटकम नामक वेबसाइट खोलेर उनले चन्दाका लागि एभरेष्ट बैंकको नयाँ वानेश्वर शाखामा रहेको उनको बैंक डिटेल सार्वजनिक गरेका थिए । चुनावको बेलामा पनि उनले डिजिटल वालेटको विवरणसमेत सार्वजनिक गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा चन्दा माग्न प्रयोग गरिएको र अहिले अमेरिका जानको लागि चन्दा/भिक्षा माग्न प्रयोग गरिएको इसेवा र खल्तीको नम्बर भने एउटै छ । 

गत प्रतिनिधिसभा निर्वाचनमा वेबसाइट नै खोलेर चन्दा मागेका बमले अहिलेसम्म कति चन्दा उठ्यो भनेर सो वेबसाइटमा कतै उल्लेख गरेका छैनन् । वेबसाइटमै रहेको उनको प्रतिवद्धतापत्रमा भने लुटतन्त्रको अन्त्यदेखि पारदर्शितासम्मको वकालत गरिएको छ ।

सभापति अमेरिकाबाट आएर ठगी, केन्द्रीय सदस्य ठगेर अमेरिका !

रास्वपा सभापति रवि लामिछाने अहिले सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पूर्पक्षको लागि थुनामा छन् । पूर्वअमेरिकी नागरिक लामिछाने अमेरिकी नागरिकता बोकेर नै गत प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए । त्यसपछि उनी अमेरिकी नागरिक रहेकै समयमा नेपालको उपप्रधान तथा गृहमन्त्री बनेका थिए । 

लामिछाने विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर भएपछि सर्वाेच्चको आदेशले उनको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री र रास्वपा सभापति पद गएको थियो । त्यसपछि लामिछानेले नेपालको नागरिकता लिएर फेरि चुनाव लडेका थिए र चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए । त्यसपछि लामिछाने फेरि उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

rsp-menbers-1744800190.jpg
उपप्रधान तथा गृहमन्त्री बनेकै समयमा उनीमाथि सहकारी ठगी र संगठित अपराधको आरोप लागेको थियो । यस्तो अभियोग लागेपछि छानविन गर्न गठन भएको संसदीय छानविन समितिले लामिछाने आफैले सहकारीबाट पैसा नलिएको प्रतिवेदन दिएको थियो । समितिले यस्तो प्रतिवेदन दिएपछि रास्वपा र लामिछानेले ‘क्लनचिट पाएको’ दाबी गरेका थिए ।

तर, लामिछानेमाथि सहकारी ठगी र संगठित अपराध गरेको अभियोगमा कास्की, रुपन्देही र काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सोही अभियोगमा लामिछाने अहिले पुपक्र्षका लागि थुनामा छन् । रास्वपाकै केन्द्रीय सदस्य पुकार बम भने अहिले आफू अध्ययनको लागि अमेरिका जान लागेको भन्दै सर्वसाधारणसँग पैसा मागिरहेका छन् ।

के भन्छन् कानुनका जानकार ?

बमले क्राउड फन्डिङका नाममा चलाइरहेको पैसा उठाउने अभियानलाई कानुनका जानकारहरुले गैरकानुनी र अनैतिक कार्य भनेका छन् । कानुनका जानकारहरुका अनुसार बमको यो कार्य चन्दा ऐन २०३०, भिक्षा माग्ने (निषेध) ऐन २०१८, नेपाल राष्ट्र बैंक ऐन २०५८ सहितका प्रचलित ऐन विपरित छ । 

फौजदारी कानुनका विज्ञ अधिवक्ता डा. सुवास आचार्य कुनै व्यक्तिले व्यक्तिगत बृत्तिविकासका लागि नागरिकसँग उसको छवि र सामाजिक संजाल प्रयोग गरेर रकम उठाउँछ भने त्यस्तो काम अनैतिक र गैरकानुनी हुने बताउँछन् ।

‘व्यक्तिको छवि देखाएर जुनसुकै माध्यमबाट पनि क्राउड फन्डिङका नाममा पैसा उठाउनु भनेको भिक्षा माग्नु हो । कानुनले स्वीकृतिविना जोगीलाई जिविकोपार्जनका लागि बाहेक अरु कसैलाई पनि क्राउड फन्डिङका नाममा भिक्षा माग्ने छुट दिएको छैन,’ अधिवक्ता डा. आचार्यले वडापालिकासँग भने ।

उनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई व्यक्तिगत रुपमा नगद लेनदेन गर्न नपाइने र गर्नुपरे लिखत अनिवार्य हुने पनि बताए ।

‘ऋण सापटी हो भने लिखत भरपाइ हुनुपर्छ । त्यो बाहेकको कारोबारमा अनिवार्य रुपमा राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । स्वीकृति नलिइ रकम उठाइयो भने राष्ट्र बैंक ऐन आकर्षित भइ फौजदारी कसुरमा कारवाही हुन्छ,’ डा. आचार्यले थपे ।

के भन्छन् पुकार बम ?

रकम मागेको विषयमा वडापालिकाले नेता बमसँग सम्पर्क गरी तपाईंको अध्ययनका लागि भन्दै नेपालसहित संसारभरबाट एजेन्ट समेत राखेर पैसा उठाउन पाइन्छ भनेर सोधेको थियो । यो प्रश्नमा उनले क्राउड फन्डिङको प्रचलन रहेको बताए । उनले आफू प्रतिष्ठित कोर्ष अध्ययनको लागि जान लागेको भन्दै स्वार्थ राख्ने व्यापारीसँग नभइ सर्वसाधारणसँग सहयोग मागेको जवाफ दिए ।

‘यो एउटा अभियान हो । हामीले विगत १५/१७ वर्षदेखि जे काम गर्यौं, त्यसका लागि जनतासँग मागेको हो । जनताले मलाई होइन, अभियानलाई पैसा दिएको हो । मैले चाहेको भए हार्वर्डमा एक वर्षे कोर्षका लागि लाग्ने रकम कुनै व्यापारीबाट लिन सक्थेँ तर त्यसो नगरेर नेपाली नागरिकसँग आव्हान गरेको हूँ,’ नेता बमले वडापालिकासँग भने । 

उनले पहिला आफूले स्कलरसिप (छात्रवृत्ति) भनेर आवेदन गरेको र आवेदन गरिसकेपछि स्कलरसिप काटिएकोले क्राउड फन्डिङबाट पैसा जुटाउनुको विकल्प नभएको बताए । उनले अध्ययन सकिएपछि आफू फर्केर नेपाल नै आउने र आफूले सिकेको कुरा नेपाल र नेपालीकै लागि हुने भएकोले पनि पैसा उठाइएको बताए ।

उनले आफू आगामी जुलाईदेखि १ वर्ष सो कोर्ष अध्ययनको लागि अमेरिका जान लागेको र त्यसको लागि १ लाख १२ हजार अमेरिकी डलर खर्च लाग्ने पनि बताए । बमलाई पैसा जुटाउन गो फण्ड नै संचालन गरिएको छ । सो फण्डमा १ लाख २० हजार अमेरिकी डलर उठाउने लक्ष्य राखिएको छ । यो समाचार तयार पार्दासम्म गो फण्डमा २२ जनाले १२ सय ६७ अमेरिकी डलर डोनेसन गरिसकेका छन् ।

उनले नेपालमा क्राउड फन्डिङबाट पैसा उठाउन पाइन्छ वा पाइदैन भन्ने कानुनी विषयबारे आफूलाई जानकारी नभएको र विगतदेखि नै पैसा उठाउने गरिएकोले अहिले त्यसै गरेको बताए ।

के लेखेर मागेका छन् पैसा ?

नेता बमले फेसबुक मार्फत सर्वसाधारणसँग पैसा माग्नुअघि एउटा लामो स्ट्याटस पनि लेखेका छन् । यस्तो छ उनको दाबीः

झन्डै दुई दशकका अनगिन्ती उतारचढाव , सयौं वाधाअवरोध र अहिले सम्मै चौतर्फि हजारौं निर्मम प्रहारहरु बिच हजुरहरुको माया , सद्भाव , आशिर्वाद, साथ , समर्थन र प्रेरणाको आशा सहित अनुरोध गर्दै छु ,

प्रिय मित्र,अग्रजहरू र मेरा परिवारजन,

म मेरो जीवन यात्रासँगै समाजसेवा तथा राजनीति सुधारका प्रयत्नहरूमा तपाईँहरूबाट पाउँदै आएको सद्भाव, समर्थन र हौसलाप्रति अत्यन्त आभारी छु।

विगत २० वर्षदेखि, नेपालको राष्ट्रहितलाई सर्वपरि र केन्द्रमा राख्दै नेपालको भूराजनीतिलाई मध्यनजर गर्दै समृद्ध नेपाल निर्माणमा - सुशासन, सुसंस्कृत राजनीति, गुणस्तरीय शिक्षा, स्वास्थ्यको अधिकार, विपद् व्यवस्थापन अनि युवा सशक्तीकरण जस्ता क्षेत्रमा- अहोरात्र समर्पित रहदा अहिले, मैले Harvard University हार्वर्ड विश्वविद्यालयको हार्वर्ड केनेडी स्कुलमा Mid-Career मास्टर इन पब्लिक एडमिनिस्ट्रेशन (MC/MPA) Edward Mason Fellow को रुपमा अध्ययन गर्ने सुनौलो अवसर पाएको छु। हार्वर्ड विश्वविद्यालय विश्वको सबैभन्दा प्रतिष्ठित संस्थाहरू मध्ये एक हो ; Times Higher Education अनुसार विगत १४ वर्ष देखि लगातार हाल २०२५ मा समेत Global Reputation Ranking लगायत अन्य थुप्रै विधामा विश्वको अग्रस्थानमा यथावत छ । प्रतिष्ठित विश्वविद्यालयको यो फेलोशिपमा भर्ना पाउनु नै मेरो सौभाग्य हो, यो मेरो मात्र नभएर विगत २ दशकमा हामीले गरेको समर्पण र अभियान प्रतिको सम्मान हो भन्ने मेरो बुझाइ छ।

यस उपलब्धिले मलाई नेपालका लागि आवश्यक नीति निर्माण, नेतृत्व सीप, र विश्वव्यापी सञ्जाल निर्माण गर्ने अवसर दिनेछ। हार्वर्ड केनेडी स्कूलको MC/MPA कार्यक्रमले विश्वभरिका आ-आफ्नो क्षेत्रमा कुशलता हासिल गरेका , नेतृत्व गरेका र उदाइरहेका व्यक्तित्वहरूसँग सञ्जाल निर्माण गर्न, अन्तर्राष्ट्रिय मामिलाहरूमा सान्दर्भिक सीपहरू विकास गर्न, र विश्वव्यापी नीति र कूटनीतिमा स्कूलको व्यापक नेटवर्कसँग संलग्न हुन प्लेटफर्म प्रदान गरेर कूटनीतिक सम्बन्धहरू सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

यस कार्यक्रमका सफल पूर्व विद्यार्थीहरूले विभिन्न देशका राज्य प्रमुख, क्याबिनेट मन्त्री, मेयर, सिनेटर, सांसद, राज्य र स्थानीय अधिकारीहरू, ब्यूरोक्रेसी, सरकारी र गैरसरकारी संस्थाहरूका नेतृत्व गर्दै आएका छन । यो कार्यक्रम पूरा भएपछि, म पनि यस पूर्व विद्यार्थीहरूको संजालको गर्विलो सदस्य हुनेछु भन्ने कुरामा म उत्साहित छु।

विगतमा यसै स्कुलका केही फेलोशिपहरुमा आर्थिक सहयोग प्राप्त भए पनि यस पटक सक्दो प्रयास गर्दा पनि विभिन्न परिस्थिति वश यो फेलोशिपबाट आर्थिक सुनिश्चितता गर्न सकिएको छैन। त्यसैले, म तपाईँहरू समक्ष विनम्र अनुरोध गर्न चाहन्छु तपाईँको सानो सानो आर्थिक सहयोगले मात्र यो सम्भव हुनेछ ।

मैले कहिल्यै व्यक्तिगत लाभका लागि कुनै अभियान चलाएको छैन, जे गरेको छु यही समाजको लागि गरेको छु र जे पाएको छु यही समाजबाट पाएको छु। यसपालि यो सहयोग मागिरहँदा मैले कुनै प्रकारको करकाप गरेको हैन। हार्वर्ड केनेडी स्कूलमा पाउने सिकाई र बनाउने संजाल पनि मेरो व्यक्तिगत लाभ भन्दा पनि मैले प्रतिनिधित्व र नेतृत्व गरेको अभियानले र कालान्तरमा मुलुकले नै लाभ लिओस भनेर प्रयत्न गरेको हुँ । यो आर्थिक सहयोग पारदर्शी रुपमा संकलन गर्ने सन्दर्भमा पनि अमेरिकामै रहनुभएका मेरा केही साथीहरूले सार्वजनिक रूपमा अभियान सञ्चालन गर्ने सल्लाह दिनुभएको हो, उहाँहरूले नै यो अभियान सुरु गर्नु भएको हो। हामीले आवश्यक खर्चको अनुमान गरी पारदर्शी रूपमा जानकारी गराएका छौँ। पारदर्शीताको हकमा केही साथीहरूले सोध्नुभएको सन्दर्भमा त मेरो राजनीतिक प्रतिबद्धता मात्र नभएर व्यक्तिगत मूल्य मान्यता नै हो भन्ने स्पष्ट पार्न चाहन्छु ।

मैले सुशासन, शिक्षामा सुधार, स्वास्थ्यमा सबैको पहुँच, विपद् व्यवस्थापन, र युवा सशक्तीकरणमा निरन्तर काम गर्दै आएको छु। सधैँ आफू भन्दा पहिले नेपाललाई प्राथमिकता राख्दै आएको छु। मेरा अभियानहरू र मैले गरेका केही कामहरूको बारेमा छोटो जानकारी यहाँ राखेको छु। हार्वर्डमा अध्ययन गर्नु मेरो लागि मात्र नभई, नेपालको वैकल्पिक सुसंस्कृत राजनीति प्रति सद्भाव राख्ने र युवामा विश्वास गर्ने हामी सबैका लागि ठुलो अवसर हो, किनभने यहाँबाट सिकेका ज्ञान, सीप, र सञ्जाल नेपालमै ल्याएर परिवर्तनका लागि काम गर्ने मेरो दृढ संकल्प छ। हरेक व्यक्ति , समाज वा राष्ट्रले गर्न सक्ने सबैभन्दा ठुलो र महत्त्वपूर्ण लगानी सिकाइ (Learning ) को हो । अझ नेपाल जस्तो विकासोन्मुख राष्ट्रले आफ्ना नागरिकलाई विश्व प्रतिष्ठित सिकाइका अवसर सुनिश्चित गर्न सक्ने हो भने सुसंस्कृत समाज निर्माणमा टेवा पुग्न सक्दछ ।

तपाईँहरूको सानो-ठुलो हरेक योगदानले यो यात्रालाई सम्भव बनाउने छ। यदि तपाईँहरूलाई मेरो अभियान र हाम्रो सामूहिक परिवर्तनको यात्रामा विश्वास छ भने, सहयोग गर्नु होला, यो अभियानलाई #SHARE गरिदिनुहोला । तपाईँहरूको साथ र शुभेच्छाले, हार्वर्डको मेरो यो यात्रा नेपालका लागि परिवर्तनको अगुवाइ गर्न चाहिने सीप र सञ्जाल बलियो बनाउने प्रयत्नमा ठुलो सहयोग हुन सक्छ ।

हार्दिक धन्यवाद 

पुकार बम

*****************************

यस कोष सङ्कलन बारे केही प्रश्न भए, कृपया पुकार बम वा निम्न अनुमोदित आयोजकहरूलाई सम्पर्क गर्नुहोस्:

(For questions about this fundraiser, please contact Pukar Bam or the following approved organizers:)

Dr. Bishnu Joshi (US- Boston, Massachusetts; Tel: +1 (609) 865-5523 )

Dr. Pragati Ghimire (US- Florida; Tel: +1 (617) 460-6665 )

Zubin Rajbhandari (US - Dallas, Texas; Tel: +1 (817) 609-0893 )

Bhumi Ghimiré (France; Tel: +33 6 01 84 92 88 )

Raj Maharjan ( New Zealand; Tel: +64 210 223 1075 )

*******************************

इमानदार नेतृत्वमा लगानी गर्न :

#GoFundme Link:

https://www.gofundme.com/.../support-pukar-bams-harvard...

यदि तपाईं पुकारलाई सिधै आफ्नो सहयोग पठाउन चाहनुहुन्छ भने, कृपया निम्न बैंक खातामा पठाउनुहोस:

#BANK #Account:

Account Name: PUKAR BAM

Phone: 977- 9851166437

Bank Name: NABIL BANK LIMITED

Address: New Baneshwor Branch

Kathmandu, Nepal

Account No: 3110017508140

SWIFTCODE: NARBNPKA

#ESewa/ #Khalti : + 977- 9851166437

******************************

मेरो बारे र बिगत २० वर्ष देखि मैले गरेको बिस्तृत कामबारे बुझ्न :

#DetailedCV link - https://pukarbam.com/curriculum-vitae/

#WEBSITE - www.pukarbam.com

#MediaCoverage ( Interview , Articles , News ) : https://pukarbam.com/media/ 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update