Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरका २ वटा वडाका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

कास्की । पोखरा महानगरपालिकाका २ वटा वडा कार्यालयले वडाबासीलाई एम्बुलेन्स सेवा दिने भएका छन् । 

वडा नम्बर १६ र १९ ले नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पतालसँगको साँभेदारीमा निःशुल्क एम्बुलेन्स सेवा दिने सम्झौता गरेका छन् । 

सम्झौता अनुसार नव आदर्श सामुदायिक विकास समाजले पोखरा १६ र १९ का वडाबासीहरूलाई उपचारका लागि अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । 

उपचार पछिघर फर्कन परेमा एम्बुलेन्स तथा उपचारका क्रममा मृत्यु भएमा शव वाहन सेवा समेत समाजले उपलब्ध गराउनेछ । सेवा लिन पोखरा १६ र १९ मा स्थायी बसोबास गरिरहेको प्रमाण खुल्ने कागज भने सेवाग्राहीले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । 

सेवाबापत वडा कार्यालयहरूले समाजलाई एकमुष्ठ रकम भुक्तानी गर्नेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहवरमा गरिएको यो सम्झौता एक वर्षसम्म कायम रहनेछ । 

सम्झौता अनुसार पोखरा १६ र १९ का जनताले नव आदर्श सामुदायिक विकास समाज र मातृशिशु मितेरी अस्पतालद्वारा सञ्चालित एम्बुलेन्स तथा शव वाहनबाट चौबिसै घण्टा निःशुल्क सेवा लिन सक्ने पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताए ।

एम्बुलेन्स सेवाका लागि नव आदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवामा नगर बासीहरूको सहज पहुँचका लागि यो  समझदारी महत्वपूर्ण भएको बताए । 

पोखरा महानगरपालिकाद्धारा सञ्चालित शिशुवा अस्पतालले पनि अत्याधुनिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । नागरिकको स्वास्थ्य सेवाका लागि पोखरा महानगरपालिका मातहतमा १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, १९ स्वास्थ्य चौकी, २ आयुर्वेद औषधालय, १ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update