Odapalika - The Fourth Estate - चौथो अंग
बिक्रम सम्बत १६६५ को ऐतिहासिक भवानी शंकर मन्दिर पुरानै सैलीमा पुनःनिर्माण 

काठमाडौँ । काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग, अर्थात् भवानी शंकर मन्दिर, अहिले पुनःनिर्माणको चरणमा रहेको छ। 

महानगरका अनुसार कुल ५ करोड ३५ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यस मन्दिरको काम  २०८२ साल फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ। यो मन्दिर पुनर्निर्माणको लागि २०८१ साल भाद्र २ गते कार्यादेश दिइएको थियो।

१६७५ सालमा प्रताप मल्लको शासनकालमा शक्तिशाली महामन्त्री देवीदास चिकुथिले यो मन्दिर निर्माण गराएका थिए। नव देग मन्दिरलाई त्यतिबेलाको एक अग्लो, कलात्मक र प्रभावशाली संरचनाका रूपमा लिइन्छ।

पुनःनिर्माणसँगै, यस मन्दिरको पुरानो शिलालेखको अध्ययन गरिँदा ४९ पङ्क्तिहरू रहेको एक लेख भेटिन्छ, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति गरिएको छ भने बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा र आरतीसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ।

ब्राह्मण पुजारीमार्फत मन्दिरमा नित्य पूजा गरिन्छ भने प्रत्येक महिनाको पहिलो दिन, पूर्णिमामा, र महाशिवरात्रिमा विशेष पूजा गरिने प्रचलन रहेको छ।

हाल पुनःनिर्माण भइरहेको संरचना अनुसार, मन्दिरको तल्लो भागमा ५ तले ईँटको भर्‍याङ निर्माण हुनेछ भने त्यस माथि ३ तले मन्दिर बनाइनेछ। यद्यपि सन् १९७५ सालको अभिलेखमा यो मन्दिर एक तले देखिएको भए पनि, त्यही अभिलेखका आधारमा अहिले तीन तले स्वरूपमा पुनर्निर्माण भइरहेको हो।

२०३९ सालको अर्को अभिलेख अनुसार पनि यो स्थानमा पहिले भव्य तथा कलात्मक मन्दिर रहेको प्रमाण भेटिएको छ। अझै पनि पाँचवटा ईँटले बनेका भुइँतलाहरू बाँकी छन्, जसले पुरानो निर्माणशैलीलाई झल्काउँछन्।

हालको मन्दिर संरचना केही साधारण देखिन्छ—गर्भगृह वरिपरि टायलले छाएको ढल्किएको चौतारो, काठका साधारण थाम, र माथिल्लो तलामा गुम्बज शैलीको छाना रहेको छ।

गर्भगृहभित्र रहेको शिवलिङ्ग वरिपरि विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू छन्, जसले हिन्दू धर्मका पाँचायन देवताको प्रतिनिधित्व गर्छन्। यस अर्थमा नव देग मन्दिर पूजा मात्र होइन, काठमाडौंको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको जिउँदो प्रतीक पनि हो।

पुरानो गौरव, वास्तुकला र आस्थालाई समेट्दै, नव देग मन्दिर अहिले आधुनिक स्वरूपमा पुनर्जीवित हुँदैछ। यस मन्दिरबाट राजधानीको सांस्कृतिक र धार्मिक इतिहास अझ जीवन्त हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update