Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालय बन्द गर्ने शिक्षकमाथि खनिए स्थानीय तह, काठमाडौंदेखि हुम्लासम्मका सरकारले भने : गलत हुँदै छ 

काठमाडौँ । विद्यालय शिक्षा सम्वन्धि विधेयकमा असहमति जनाउँदै देशभरका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा होमिएपछि स्थानीय  सरकारहरुले कक्षा संचालन नगरे कारवाहीको चेतावनी दिएका छन् । 

काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले महानगरका विद्यार्थीकोे भविष्यमा असर पार्नेगरी विद्यालय बन्द गरेमा कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएका छन् । 

मेयरले सामाजिक सञ्जाल बाट र महानगरले स.स्थागत रुपमा बन्द गर्ने शिक्षकलाई कारवाही गर्ने बताएका हुन् । 

बालेनले शिक्षा बिधेयकमा महानगरको पनि असहमति रहेको भन्दै २ लाख ५० हजार हजार विद्यार्थी तथा १ हजार भन्दा धेरै शिक्षक महानगरको मतहतमा भएको सत्य नभुल्न चेतावनी दिएका छन् । 

‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन, छ्न,’ मेयरले भनेका छन्, ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने  विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन ।’

उनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउँदै शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अबरोध गरे कानुनअनुसार कारबाही हुने चेतावनी दिएका छन् । 

महानगरले आज एक सूचना जारी गर्दै पठनपाठन बन्द गरी आन्दोलनमा जाने शिक्षकलाई कारबाही गरिने जनाएसकेको छ । 

‘सामूहिक सौदाबाजीका माग राख्ने र पुरा गर्ने आफ्नै विधि, प्रक्रिया र पद्धति हुन्छन् ।  कोरोनाले प्रभावित भएको शिक्षा क्षेत्र सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु शिक्षकको नैतिकता र आचरणले दिँदैन,’ सूचनामा भनिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ ।  गाउँपालिकाले मंगलवार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन पालिका मातहतका मावि, निमावि र आधारभूत विद्यालयलाई जानकारी दिएको हो । 

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको सेवा, सुरक्षा र वृत्तिविकास लगायतका हकहितका विभिन्न महत्वपूर्ण विषयमा भएको अस्पष्टता विरुद्ध देशभरका विद्यालय बन्द गर्नाका साथै शिक्षक आन्दोलनमा उत्रिने जानकारी प्राप्त भए पनि विद्यालय बन्द नगर्न गाउँपालिकाले सूचनामा भनेको छ ।     
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update