Odapalika - The Fourth Estate - चौथो अंग
थुलुङ दुधकोशी गाउँपालिकाले साढे ५ करोड खर्च गरेर मास्यो ऐतिहासिक ५ पाँचपोखरी

काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले साढे ५ करोड रुपैयाँ खर्च गरेर ऐतिहासिक पाँच पोखरी मासेको छ । 

गाउँपालिकाले वाड नं. ५ मा पर्ने जुबु सुकेपोखरीका पोखरी मासेको हो । गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राईको मिलेमतोमा साढे ५ करोड रुपैयाँ खर्च गरेर ५ वटा पोखरी र जुबुको सार्वजनिक सम्पदा मासेको स्थानीयले बताएका छन । 

गाउँपालिका उपाध्यक्ष सविता राई संघीय सरकारको समेत बजेटमा सो क्षेत्रको पुननिर्माण भइरहेको बताउँछिन् । कुल लागतको ७० प्रतिशत बजेट संघीय सरकारको र बाँकी ३० प्रतिशत स्थानीय तहको बजेटबाट सो क्षेत्रमा पूर्वाधार निर्माण भइरहेको उनको भनाइ छ । 

पोखरीको पुननिर्माण गर्दा कंक्रिटको पोखरी बनाउने आफूहरुको योजना नरहेपनि पछि कंक्रिटको बनाइएकोले समस्या देखिएको उपाध्यक्ष राईले बताइन् ।

‘सुरुमा हामीले कंक्रिटको नबनाउने भनेका थियौं । तर, कंक्रिटको बनाइयो । त्यसैकारण पानी सुकेको हो,’ उपाध्यक्ष राईले वडापालिकासँग भनिन् । 

jubu-naya-pokhari-1745408132.jpg
साढे ५ कराेड रूपैयाँ खर्च गरेर बनाइएकाे पाेखरी ।

सो गाउँपालिकाका अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राई अघिल्लो कार्यकालमा पनि सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै थिए । जुबुको ५ पोखरी निर्माण कार्य भने वर्तमान नेतृत्वको अघिल्लो कार्यकालमा नै सुरु भएको थियो । सुरुमा ३ करोड ४७ लाख रुपैयाँ लागत अनुमान गरेर पूर्वाधार निर्माण थालिए पनि लागत बढेर साढे ५ करोड रुपैयाँ पुगेको हो ।

उपाध्यक्ष राईले ती ५ वटा पोखरीमध्येमा एउटाको मात्रै पानीको मुहान रहेको र २०७२ सालको भूकम्पपछि त्यसको मुहान पनि सानो भएको दाबी गरिन् ।

‘५ वटै पोखरी थिए भन्ने होइन, एउटा पोखरीको मात्रै मुहान थियो । त्यो पनि भूकम्पपछि सानो भएको हो । बाँकी पोखरीमा वर्षाको समयमा मात्रै पानी जम्मा हुने गरेको थियो,’ उनले भनिन् । 

तर स्थानीयले भने पहिला ५ वटै पोखरीमा पानी हुने गरेको बताएका छन् । स्थानीयका अनुसार सो स्थानमा पहिला ५ वटा पोखरीमा पानी थियो । अहिले एउटा मात्रै भएको उपाध्यक्ष राईले बताइन् । 

jubu-devithan-1745408164.jpg
जुबुमा रहेकाे कालिका देवीथान ।

सो स्थानको अर्काे महत्वपूर्ण सम्पदा भनेको कालिका देवीको थान हो । भदौरे पूर्णिमामा सो देवीथानमा नजिकका २० भन्दा बढी गाउँबाट झाक्रीहरु आएर पुजा गर्ने तथा जात्रा लाग्ने गरेको स्थानीय बताउँछन् । गाउँपालिकाको मोटो रकम खर्च गरेर पोखरी निर्माण सहितका पूर्वाधार बनाइए पनि देवीथानको संरक्षण र पुननिर्माणको लागि कुनै काम भएको छैन । 

‘यो परियोजना सम्पन्न भएपछि आर्टिफिसियल मन्दिर बनाउने योजना छ । अहिलेको मन्दिरलाई जस्ताको तस्तै संरक्षण गरेर राख्ने हो,’ उपाध्यक्ष राईले भनिन् । यद्यपि, अहिले नै देवीथान भने जिर्ण भइसकेको छ । त्यसको संरक्षणमा गाउँपालिकाको ध्यान गएको छैन ।

थुलुङ दुधकोशी गाउँपालिका–५ मा पर्ने जुबु सुकेपोखरीमा ऐतिहासिक रुपमा ५ वटा पोखरी थिए । खुल्ला ठाउँ थियो । ठूलो चौर थियो । २०३२ सालसम्म सोलु जिल्लाभित्र परेका ऐसेलुखर्क, बाकाचोल, वाङ्देल, राखा, दिम्मालगायतका गाउँ पञ्चालयतबाट जिल्ला सदरमुकाम सल्लेरी आउने मुख्य व्यापारिक नाका पनि यही सुकेपोखरी हो । 

jubu-drishya-1745408209.jpg
जुबु बजार क्षेत्र, पाेखरी र त्यहाँबाट देखिने दृश्य ।

अहिले त्यो क्षेत्रमा ठूलो बजार छ । कालिका आधारभूत विद्यालय छ । करिब ६० निजी घर छन् । शुक्रबार हाट बजार लाग्ने गरेको छ । करिब १५ वर्ष अघि नै पर्यटन मन्त्रालयले सो ठाउँलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको थियो ।

सो ठाउँको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक सम्पदा भनेको सुकेपोखरीको कालिका देवीथान र ५ वटा पोखरी नै हो । त्यो मुल पोखरी असाध्यै सुन्दर ठाउँ थियो । अहिले पोखरी मासिएको छ । ऐतिहासिक देवीथानसँगै जोडेर बजारको ढल निकास बनाइएको छ । यसले एकातिर ऐतिहासिक सम्पादामाथि आक्रमण भएको छ भने अर्काेतिर धार्मिक आस्थामाथि प्रहार गर्न खोजिएको छ । 

संघ सरकारसमेत संलग्न रहेर बनाइएको भनेको सो पूर्वाधार निर्माणमा स्थानीयसँग समन्वय नगरिएको तथ्य खुलेको छ । परियोजना पुरु भएपछि थाहा पाएका स्थानीय पुराना बुढापाकाले डोजर नचलाउन आग्रह गरेका थिए । तर, गाउँपालिकाले स्थानीयको सो माग पनि सुनेन । 

jubu-purano-pokhari-1745408243.jpg
जुबुमा रहेकाे पुरानाे पाेखरी ।

केही स्थानीयले भने सो क्षेत्रमा डोजर चलाउदा एउटा नाग मरेको र त्यसपछि ठूलो आधिहुरी आएको दाबी गरेका छन् । त्यसपछि क्षमा पुजा गरिएको थियो । यस्तै, उपाध्यक्ष राईले पुरानो र ऐतिहासिक संरचना चलाइए पनि सो विषयमा पुरातत्व विभागसाग अनुमति भने नलिइको स्वीकार गरिन् । उपाध्यक्ष राई सुकेपोखरीकै स्थानीय हुन् । 

सुकेपोखरीबाट भोजपुरको साल्पा क्षेत्र, ओखलढुंगाको चिसंखुगढी क्षेत्र, खोटाङको सिमाना क्षेत्र, सोलुखुम्बुको अधिकांश भाग र हिमाल देखिन्छ । सो स्थानमा ५ वर्षअघि बनाएको एउटा भवन अलपत्र अवस्थामा छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update