Odapalika - The Fourth Estate - चौथो अंग
रामेछाप नगरपालिकाः सुत्केरी गाई–भैसीलाई १ हजार भत्ता, स्कुल र अस्पतालमा इन्टरनेट

काठमाडौँ । रामेछाप जिल्लाको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा रोजगार जस्ता क्षेत्रको विकासका लागि विशेष कार्यक्रमहरु संचालनमा ल्याएको छ ।

जिल्लाको पुरानो सदरमुकाम रहेको र राणा शासनको विरोध गरेको अभियोगमा मृत्यूदण्ड पाएका ४ शहिदमध्ये गंगलाल श्रेष्ठको जन्मस्थान भंगेरी पनि सोही नगरपालिकाभित्र पर्छ । नगरबासीको सेवा सुविधा र पूर्वाधार निर्माणमा आफ्नो सम्पूर्ण ध्यान गएको नगरप्रमुख लवश्री न्यौपाने बताउँछन् ।

‘सार्वजनिक सेवा प्रवाह, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, आयआर्जन बृद्धि र विकास निर्माणलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौं । केही कामको सकारात्मक परिणाम आइसकेको छ भने केहीको आउने क्रममा छ,’ नगर प्रमुख न्यौपानेले वडापालिकासँग भने ।

यस्तै, नगरपालिका क्षेत्रको केही भूभाग सुख्खा क्षेत्र पनि भएकोले त्यस्ता स्थानमा आकर्षक झोलुङ्गे पुल बनाएर पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य राखिएको नगरपालिकाका प्रमुख न्यौपानेले जानकारी दिए । सबै वडाका सामुदायिक विद्यालयहरु र स्वास्थ्य चौकीहरुमा अप्टिकल फाइबर सहितको इन्टरनेट पुगिसकेको छ भने सामाजिक सुरक्षाको क्षेत्रमा पनि नगरपालिकाले अब्बल काम गरेको पाइएको छ ।

महिलासँग सम्बन्धित कार्यक्रमहरु

नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रम अन्तरगत नगरपालिकाले सुत्केरी महिलालाई हाइजिन किट तथा पौष्टिक आहार सहित सुत्केरी कोशेली वितरण गर्ने गरेको छ । 

यो कार्यक्रम नगरपालिकाभित्रका सबै वडाहरुमा संचालन गरिएको छ । गत आर्थिक वर्ष मात्रै यो कार्यक्रम अन्तरगत २२४ जना सुत्केरी महिलालाई हाइजिन किट तथा पौष्टिक आहार सहित सुत्केरी कोशेली वितरण गरिएको थियो ।

यस्तै, नगरपालिकाले गर्भवतीको लागि ग्रामीण अल्ट्रयासाउन्ड कार्यक्रम पनि संचालन गरेको छ । नगरपालिकाभित्रका सबै वडामा घुम्ती सिविर संचालन गरेर गर्भवतीको निःशुल्क भिडियो एक्स रे सेवा प्रदान गरिएको मेयर न्यौपानेले जानकारी दिए । प्रसुती सेवा लिन स्वास्थ्य संस्थामा आएका महिलाले निःशुल्क एम्बुलेन्स सेवा पनि पाउने गरेका छन् । 

जेष्ठ नागरिकलाई सिरक र पानी तताउने केट्ली

रामेछाप नगरपालिकाले जेष्ठ नागरिकको सम्मानमा जेष्ठ नागरिकसँग मेयर कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रम अन्तरगत ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई सिरक र पानी तताउने केट्ली निःशुल्क वितरण गरिएको मेयर न्यौपानेले जानकारी दिए । गत आर्थिक वर्षमा मात्रै नगरपालिकाले २९० जना ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई न्यायो सिरक र पानी तताउने केट्ली वितरण गरेको थियो । 

नगरपालिकाले ६० वर्षभन्दा माथिका दलित तथा ६५ वर्षमाथिक नागरिकको स्वास्थ्य बीमा निःशुल्क गरिदिन सुरु गरेको छ । जेष्ठ नागरिकप्रति सम्मान प्रकट गर्न यस्तो कार्यक्रम संचालन गरिएको मेयर न्यौपानेले बताए । गत आर्थिक वर्षमा मात्रै रामेछाप नगरपालिकाले ७७५ जना जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो ।

नगरपालिकाले क्यान्सर, मृगौला तथा स्पाइनल इन्जुरी भएकालाई मासिक ५ हजार रुपैयाँका दरले अनुदान दिने गरेको छ । केही दीर्घ रोगको उपचारको लागि २० हजार रुपैयाँसम्म दिने गरिएको मेयर न्यौपानेको भनाइ छ । 

यस्तै, रामेछापन नगरपालिका क्षेत्रभित्र खोप लगाउन छुटेका बालबालिका नभएको मेयर न्यौपानेले बताए । सबै वडामा गरिएको घरधुरी सर्वेक्षणले खोप लगाउन कोही पनि बालबच्चा नछुटेको पाइएको उनको भनाइ छ ।

किसान लक्षित कार्यक्रमको चाङ

नगरपालिकाले कृषि क्षेत्रका लागि धेरै कार्यक्रमहरु संचालन गरेको छ । यस्तै कार्यक्रममध्येको एक हो माटो परीक्षण कार्यक्रम । माटोको अवस्था के कस्तो छ, कुन बाली लगाउँदा उपयुक्त हुन्छ, कस्तो प्रकारको मलखादको प्रयोग गर्ने भन्ने जस्ता सिफारिस माटो परीक्षणबाट गर्ने गरिएको छ । नगरपालिकाले सबै वडाहरुमा माटो परीक्षण कार्यक्रम संचालन गरेको छ । गत आर्थिक वर्षमा ५६२ नमुनाको परीक्षण भएको थियो भने यस कार्यक्रमबाट ४५० जना कृषक लाभान्वित भएका मेयर न्यौपानेको भनाइ छ । माटो परीक्षणको लागि नगरपालिकाले गत आर्थिक वर्षमा सबै वडाहरुमा शिविर नै संचालन गरेको थियो ।

नगरपालिकाले कृषक सुचीकरण कार्यक्रम पनि संचालन गरेको छ । यो कार्यक्रम अन्तरगत नगरपालिकाभित्रका किसानको सुचीकरण गर्ने र उनीहरुलाई के कस्तो सहजीकरण आवश्यक पर्छ, त्यसको प्रबन्ध गर्न सुचीकरण गरिएको हो । नगरपालिकाले अहिलेसम्ममा ४ हजार २ सयभन्दा बढी घरधुरीको तथ्यांक संकलन गरी किसान सुचीकरण गरिसकिएको छ ।

नगरपालिकाले कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न तरकारी खेतीमा युवा लक्षित कार्यक्रम पनि संचालन गरेको छ । यो कार्यक्रम अन्तरगत तरकारी खेतीको लागि आवश्यक परामर्शदेखि बजेट अनुदानसम्मको व्यवस्था गरिएको छ । नगरपालिकाले जुनार काट्ने मेसिन, आधुनिक हलो जस्ता कृषि उपकरणमा ५० प्रतिशत अनुदान दिने गरेको छ ।

रामेछाप जिल्ला जुनार खेतीको लागि प्रशिद्ध जिल्ला पनि हो । रामेछापको पनि रामेछाप नगरपालिका क्षेत्र नै जुनार खेतीको लागि सबैभन्दा राम्रो मानिएको क्षेत्र पर्छन् । नगरपालिकाले जुनार खेतीको लागि २०५ लिटर प्रोटिन बेड खरिद गरी किसानलाई वितरण गरेको छ । यसबाट सो नगरपालिका भित्रका ४५० भन्दा बढी जुनार खेती गर्ने किसान लाभान्वित भएका नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले कृषि एम्बुलेन्स सेवा पनि संचालन गरेको छ । किसानको खेतबारीबाट उनीहरुका उत्पादनहरु निःशुल्क रुपमा किसानले भनेको बजारसम्म पुर्याउने प्रयोजनका लागि कृषि एम्बुलेन्स प्रयोग हुने मेयर न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले किसानको लागि कृषि यान्त्रिकरण तथा औजार उपकरण वितरण कार्यक्रम पनि संचालन गरेको छ । यो कार्यक्रम अन्तरगत किसानलाई हाते ट्याक्टर, फलामे हलो, ट्याक्टर फालीसेट, ट्याक्टर कुटेफाली, धान झार्ने प्याडेल थ्रेसर जस्ता उपकरण किसानलाई वितरण गर्ने गरिएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा ११ थान हाते ट्याक्टर, २६० थान फलामे हलो, २८ थान ट्याक्टर फाली सेट, ८४० थान ट्याक्टर फाली पिस, ९ थान ट्याक्टर कुटे फाली सेट र ११ थान धान झार्ने प्याडेल थ्रेसर वितरण गरेको थियो । यस्ता कृषि उपकरणको वितरणबाट ७५० कृषक लाभान्वित भएका नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले आकष्मिक बाली संरक्षण कार्यक्रम पनि संचालन गरेको छ । यस्तो कार्यक्रममा फौजी किरा नियन्त्रण जस्ता कार्यक्रम संचालन गरिएको छ ।

रामेछाप नगरपालिकाले कपास खेती कार्यक्रम पनि संचालनमा ल्याएको छ । सो नगरपालिका क्षेत्रभित्र पहिला कपास खेती धेरै हुने गरेको भएपनि पछिल्लो समय नासिदै गएपछि त्यसको संरक्षणका लागि कार्यक्रम संचालन गरिएको मेयर न्यौपानेले जानकारी दिए । नगरपालिकाले कपासको विउ खरिद गरी किसानलाई निःशुल्क वितरण गरेको छ । रामेछाप नगरपालिका अन्तरगतका हिमगंगा, रामपुर, सुकजोर जस्ता ठाउँहरुमा पहिला धेरै कपासखेती हुने गरेको नगरपालिकाले जानकारी दिएको छ ।

कृषि क्षेत्रमा रामेछाप नगरपालिकाले संचालन गरेको अर्काे कार्यक्रम रैथाने बाली प्रवद्र्धन हो । आफ्नो नगरपालिका क्षेत्रभित्र उत्पादन हुने रैथाने बालीहरु फापर, जुनेलो, काउलो, कागुनो जस्ता बालीको संरक्षण थालिएको मेयर न्यौपानेको भनाइ छ ।

कृषि क्षेत्रमै संचालन भएको अर्काे कार्यक्रम सुत्केरी गाई भैसीलाई पोषण तथा स्याहार अनुदान कार्यक्रम हो । यो कार्यक्रम अन्तरगत गाई वा भैसी सुत्केरी भएपछि प्रतिगाईभैसी १ हजार रुपैयाँ अनुदान दिने गरिएको मेयर न्यौपानेको भनाइ छ । 

नगरपालिकाले बाबुआमा विहिन बालबालिकालाई मासिक २ हजारका दरले भत्ता दिने गरेको छ । बाबुआमा नभएका बालबालिकाको लागि सरकार छ भन्ने आभाश गराउन र उनीहरुलाई जीवनयापनको लागि सहयोग होस भन्ने ध्येयले यसरी भत्ता दिन थालिएको मेयर न्यौपानले बताए ।

यस्तै, रामेछाप नगरपालिकाभित्रका सबै वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु तथा स्वास्थ्य संस्थाहरुमा अप्टिकल फाइबरसहितको इन्टरनेट सेवाको पहुँच पुगिसकेको छ । र, सबै वडा कार्यालयहरुमा व्यक्तिगत घटना दर्ता कार्य अनलाइनबाटै हुने गरेको नगरपालिकाले जानकारी दिएको छ ।

चिकित्सक, इन्जिनियर तथा कृषि र पशु विकास क्षेत्रमा स्नातक अध्ययन गर्न १ १ जनालाई छात्राबृत्ति दिने कार्यक्रम पनि नगरपालिकाले संचालन गरेको छ ।

रामेछाप नगरापलिकाले संचालन गरेको अर्काे कार्यक्रम एक वडा एक उत्पादन हो । यो कार्यक्रम अन्तरगत वडा नम्बर १ मा मसला, २ मा मौरीपालन, ३ मा माछा, ४ मा पशुपालन र गेडागुडी उत्पादन, ६ मा जुनार, ७ मा खुर्पाने र ९ नम्बरमा पशुपालनलाई वडाको विशेष उत्पादनको रुपमा सहयोग गर्ने कार्यक्रम ल्याइएको मेयर न्यौपानेले जानकारी दिए । रामेछाप नगरपालिकाको वडा नम्बर ८ भने बजार क्षेत्र पर्छ । 

गोठदेखि ओठसम्म

नगरपालिकाले संचालन गरेको अर्काे कार्यक्रम गोठदेखि ओठसम्म हो । पशुपालन मार्फत स्वस्थ उत्पादन गरेर मानवको ओठसम्म पुर्याउने उदेश्यले यस्तो कार्यक्रम संचालन गरिएको हो । पोषणमैत्री स्थानीय तह घोषणाको लागि गोठदेखि ओठसम्म स्वच्छ र स्वास्थ्य दुध, अण्डा र मासु उत्पादनका लागि जोड दिन यस्तो कार्यक्रम ल्याइएको मेयर न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update