Odapalika - The Fourth Estate - चौथो अंग
तलव दिन्न भन्ने गाउँपालिका अध्यक्षको प्रश्नः आन्दोलनमा पनि नजाने स्कुल पनि नजाने शिक्षकलाई किन तलव दिनू ? 

काठमाडौँ । विद्यालयमा पठनपाठन ठप्प पारकेो दिनदेखि तलव निकासा रोक्ने चेतावनी दिएको स्याङजाको हरिनास गाउँपालिकाका वडाअध्यक्षहरु आजबाट विद्यालय अनुगमनमा निस्किएका छन् । 

गाउँपालिका अध्यक्ष  खिमनारायण मानन्धरले हिजोमात्र एक विज्ञप्ति जारी गरेर पढाइ भएको दिनदेखिको मात्रै तलव निकासा गर्ने भनेका थिए । 

विद्यालय शिक्षा विधेयकको माग राख्दै लामो समयदेखि शिक्षकहरु काठमाडौँँ केन्द्रीत अभियानमा छन् । नेपाल शिक्षक महासंघको व्यानरमा भएको आन्दोलनमा शिक्षकहरुले विधेयक नआएसम्म सडक नछाड्ने बताइरहदा स्थानीय तहहरु भने शिक्षकहरुप्रति कठोर बन्दै गइरहेका छन् । 

हरिनास गाउँपालिकाका अध्यक्ष मानन्धरले एक विज्ञप्ति जारी गर्दै भनेका छन् । ‘हरिनास गाउँपालिकाभरका विद्यालयहरूका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरूको विद्यालयमा पढाइ भएको दिनदेखिको मात्रै तलब निकासा हुनेछ ।’

तलव निकास रोक्ने निर्णय गर्दै गाउँपालिकाले सबै वडाअध्यक्ष र शिक्षा शाखालाई विद्यालय अनुगमनको जिम्मा समेत दिएको छ । 

‘शिक्षकहरुले आजबाट विद्यालय खोल्छौँ भनेका छन्, वडाअध्यक्षहरुले अनुगमन गर्नुहुन्छ, शिक्षा शाखाले पनि सबै हेडसरहरुलाई सोध्दा आजबाट विद्यालय खोल्छौँ भन्नुभएको छ,’ पालिका अध्यक्ष मानन्धरले वडापालिकासँग भने । 

उनका अनुसार पालिकाभित्र ३१ वटा सामुदायिक विद्यालयमा २ हजार १०० विद्यार्थी अध्ययनरत छन् । पालिकाभित्र ५ वटा नीजि विद्यालय पनि छन् । 

पालिकामा २० वटा प्राथमिक विद्यालय छन् ।  जसमध्ये १० वटा प्राविमा त १० जनाभन्दा पनि कम विद्यार्थी छन् । यस्तो अवस्थामा शिक्षकहरु न आन्दोलनमा न कक्षाकोठामा भएपछि बाध्य भएर तलव रोक्नुपर्ने अवस्थामा आइपुगेको मानन्धरको भनाइ छ । 

आन्दोलन भनिएको छ, अधिकांश शिक्षकहरु न काठमाडौँँमा छन् न त स्कुलमा छन््, आन्दोलनको नाममा घरमा बसेर तलव खान पाइन्छ त?’ मान्नधरले वडापालिकासँग भने । शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update