Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संसदको अधिवेशन आजबाट, कार्यसूचीमा छैन शिक्षा विधेयक 

 

काठमाडौँ । आजबाट संघीय संसद्का दुवै सदनको अधिवेशन सुरु हुँदैछ । दिउँसो १ बजेदेखि दुवै सदनको बैठक बस्नेछ । 

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन् ।

व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुने छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १० गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना छ ।

त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने छ । यो अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने बताइएको छ । 

यी दुबै ऐन पारित गर्न दवाव दिदै शिक्षक र कर्मचारी आन्दोलनमा छन् । शिक्षकहरु ऐन नलिइ घर नफर्कने भन्दै विगत २३ दिनदेखि आन्दोलनमा छन् । तर आजको सम्भावित कार्यसूचीमा यो विधेयक माथि छलफलको कार्यसूची छैन ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update