Odapalika - The Fourth Estate - चौथो अंग
बागलुङका सबै स्थानीय तहले पाए लम्पी स्किनविरुद्धको खोप 

बागलुङ । बागलुङका सबै स्थानीय तहका सबै वडामा लम्पी स्किन रोग प्रतिरोधात्मक औषधि उपलव्ध भएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको हो । 

२ हजार ९०० पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए ।

केन्द्रले बागलुङ नगरपालिकाका लागि ५०० पशुलाई पुग्ने खोप उपलव्ध गराएको  छ ।     लम्पी स्किनबाट बागलुङमा १६६ गाईको मृत्यु भएको छ । 

लम्पी स्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक सय चार डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ । फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यो रोगबाट बढी बिरामी भएका छन् । 

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पी स्किनको संक्रमण देखिएको थियो । त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटा बताउँछन् । 

पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन् । 

ढोरपाटन नगरपालिकाका १ हजार २०० गाईगोरु बिरामी छन् भने निसीखोलामा ५१३, गलकोट नगरपालिकामा १४२, बडिगाड गाउँपालिकामा १८१ र तमानखोलामा १८९ र  बागलुङ नगरपालिकामा २२१ गाईगोरुमा लम्पी स्किन देखिएको छ ।  

भेटेरिनरी अस्पतालले ४ हजार ५०० डोज खोप पालिकाहरुमा उपलव्ध गराएको सापकोटाले जानकारी दिए ।  सबैभन्दा धेरै संक्रमण देखिएको ढोरपाटनमा भने प्राविधिक अभाव हुँदा भएका खोपसमेत लगाउन नसकिएको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update