Odapalika - The Fourth Estate - चौथो अंग
जिवित देवी, गणेश र भैरवलाई काठमाडौँ महानगरले दियो श्रीपद भत्ता 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनाको श्रीपद भत्ता रकम प्रदान गरेकी छन् । 

महानगरपालिकाले श्रीकुमारीलाई मासिक १८ हजार रुपैयाँ, श्रीगणेश र श्रीभैरवलाई मासिक १५ हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ देखिपूर्व श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई श्रीपद भत्तावापत रकम उपलब्ध गराउन थालेको हो । शुरुमा पूर्वकुमारीलाई मासिक १० हजार रुपैयाँ, पूर्वगणेश तथा भैरवलाई मासिक ८ हजार रुपैयाँका दरले एक बर्षमा हुन आउने एकमुष्ट रकमसहित सम्मान गर्न थालेको हो । 

379342045_185211637938597_2388339382324059122_n1695348556.jpg

श्रीपद भत्ता प्राप्त गर्ने पूर्व श्रीकुमारीहरुमा १९९९ सालमा जीवित देवीका रुपमा प्रतिस्थापित हुनुभएकी नानीशोभा शाक्यदेखि २०७४ सालसम्म प्रतिस्थापित हुनुभएकी मतिना शाक्यसम्म गरी ९ जना छन् । कार्यक्रममा ज्येष्ठ उमेरका कारण नानी शोभा उपस्थित थिइनन् भने हर्ष लक्ष्मी शाक्य र प्रीति शाक्य देश वाहिर भउकाले उपस्थित भएनन् । 

वर्तमान श्रीकुमारी (२०७४ सालदेखि) तृष्णा शाक्य छिन् । वर्तमान कुमारीलाई महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ मासिक सहयोग उपलब्ध गराउने गरेको छ । यस्तै कुमारीका चिताइदार ज्ञानदेवी शाक्यलाई पूजाखर्च र मासिक पारिश्रमिक गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ । 

सो अवसरमा डंगोलले, पूर्व श्रीहरुको आवास व्यवस्थापनकालागि काठमाडौँ महानगरपालिकाले प्रयास गरिरहेको बताइन् । जीवन्त सांस्कृतिक तथा सामाजिक परम्पराको निरन्तरताका लागि जीवित देवदेवीका रुपमा प्रतिस्थापित श्री र उनीहरुको परिवारको योगदानको कदर गर्दै  परम्परा जोगाउन महानगरपालिकाले सरकारका तर्फबाट पूरा गर्नु पर्ने दायित्व पूरा गर्ने उनले बताइन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update