Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्डले भन्दा पहिला ५० वटा मुर्रा भैँसी ल्याएर बाँढ्ने यी मेयर 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट फर्कदा १५ वटा मुर्रा जातका भैसी ल्याएको विषय निकै लामो सयमसम्म सञ्चारमाध्यम र राजनीतिक बृत्तमा चर्चाको विषय बन्यो । 

तिनै प्रचण्डले १० वर्ष लामो शसस्त्र बिद्रोहको नेतृत्व गर्दा अधिकांश समय उनलाई सेल्टर र सुरक्षा दिएको रोल्पाको स्थानीय सरकार भने ५० वटा मुर्रा भैँसी अनुदानमा बाँढेर पालिकावासीलाई दूध खुवाइरहेको छ । 

अझ रोचक के छ भने, शसस्त्र बिद्रोहपछि रोल्पाका युद्धग्रस्त भग्नावशेषमा पुग्न अल्छी गरिरहेका माओवादी नेताहरु संघीय सत्ताको नेतृत्वमै रमाइरहेका बेला स्थानीय सरकारले भने रोल्पालाई युद्ध पर्यटन केन्द्रको रुपमा विकास गर्न खोज्दै छ । 

युद्धकालभर माओवादी सेनाका लडाकू र नेपाली सेनाको दोहोरो द्धन्द्धको मारमा परेको रोल्पा नगरपालिका बारे धेरैको भ्रम छ, ‘विकास, समृद्धि र इच्छाशक्तिका हिसावले रोल्पा नगरपालिकासहित यहाँका ९ वटै पालिका कमजोर छन् । 

आउनुहोस्, यो भ्रमबाट माथि उठ्न रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती, उपमेयर गीता आचार्य र नगरपालिकाका कर्मचारीको मिहिनेतका कारण प्राप्त उपलव्धि र लोभलाग्दो सुरुवात बारे चर्चा चर्चा गरौँ ।

अनुदानमा मुर्रा भैँसी, अब जर्सी गाईको पालो

मेयर घर्तीका अनुसार सदरमुकाम समेत रहेको रोल्पा नगरपालिकामा दुधको चरम अभाव हुन थालेपछि नगरपालिकाले एउटा आइडिया लगायो– मुर्रा भैँसी किन्ने र अनुदानमा कृषकलाई दिने । 

यो योजना अनुसार नगरपालिकाले १ लाख १० हजार रुपैँया गोटाका ५० वटा मुर्रा भैँसी किन्यो । भँैसी पाल्न इच्छुक कृषकलाई निश्चित मापदण्ड बनाएर एउटा भैँसी बराबर ५० हजार रुपैँया अनुदान दिएर भैँसी वितरण गर्यो । 

अहिले यि भैँसीको दुधबाट स्थानीयले मनग्गे आम्दानीमात्र लिएका छैनन् नगरपालिका दूधमा पूर्णत आत्मनिर्भर छ । 

यो सफलताका बारे चर्चा गरिरहदाँ मेयर धर्तीले ठट्टा गर्दै वडापालिकासँग भनेका थिए– जनजाति बाहुल्य रोल्पा नगरपालिकामा विगतमा अधिकांश मान्छे भैँसीको मासु खान्थे, अहिले दूध खाइरहेका छन् । 

मुर्रा भैँसीबाट उत्साहित भएको नगरपालिकाले यस वर्ष जर्सी गाई किन्न ४० लाख रुपैँया खर्च गर्ने भएको छ । यी गाईपनि निश्चित मापदण्ड बनाएर कृषकलाई अनुदान दिएर बाँढ्छौँ, कम्तीमा दूधमा आत्मनिर्भर मात्र नभइ आम्दानीको राम्रो श्रोत पनि बन्न सक्नुपर्छ नगर भन्ने हो,’ मेयर घर्तीले भने । 

आफ्नै डेरी, मुर्रा र जर्सीको दूध 

नगरपालिकाले कृषकहरुले उत्पादन गरेको दूध खरिद र प्रशोधनका लागि आफ्नै लगानीमा डेरी खोलेको छ । सहकारी मोडलमा संचालन भइरहेको डेरीमा दूधका विभिन्न परिकार पनि बनाउने नगरको योजना रहेको मेयर सुनाउँछन् । 

नगरपालिकाले ल्याउने जर्सी गाईलाई सडकको पहुँच पुगेका वडा नम्बर १, २, ६ र ७ का कृषकलाई समूह बनाएर १५ वटाका दरले बितरण गर्ने कार्यक्रम नगरले बनाएको मेयर सुनाउँछन् । 

छात्रबृत्तिदेखि लोकसेवा कक्षासम्म 

नगरपालिकाले प्राविधिक शिक्षा अध्ययनमा प्रोत्साहन गर्न हरेक माध्यमिक विद्यालयका ५ जना छात्रछात्रालाई छात्रबृत्ति दिइरहेको मेयरको भनाइ छ । पालिकाभित्रका ११ वटा सामुदायिक विद्यालयमा ५ जनाका दरले ५५ जनालाई छात्रबृत्ति दिएको उनको भनाई छ । नगरपालिकाले स्नातक पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्ति दिइरहेको उनको भनाइ छ । 

नगरभित्रका २ जनालाई एमविविएस पढाउने  गरेको नगरले यसका लागि हरेक वर्ष ५० लाख रुपैैँया दिदै आएको छ ।   छात्रवृत्तिका लागिमात्र नगरपालिकाले ६५ लाख रुपैयाँ बजेट छुट्याएपनि कतिपय सिटमा अझैपनि विद्यार्थी नआउने गरेको मेयरको गुनासो छ । 

नगरपालिकाले नगरभित्र लोकसेवा र शिक्षा सेवा आयोगका कक्षासमेत निःशुल्क संचालन गर्ने गरेको मेयरले बताए । 

अभियानः जंकफुड फाल, दूधका परिकार खाऊ 

गाईभैँसी खरिदका लागि पर्याप्त अनुदान दिदै आएको नगरपालिकाले विद्यालयहरुमा जंक फुडलाई बिस्तारै निरुत्साहन गर्न थालेको मेयर घर्तीको भनाइ छ । 

उनका अनुसार हरेक विद्यालयले हप्तामा एक दिन कम्तीमा दूधको परिकार मात्र विद्यार्थीलाई (दिवा खाजाका लागि) खुवाउने नियम नगरपालिकाले बनाएको छ । जसका कारण स्थानीय उत्पादनको खपतदेखि लिएर विद्यार्थीको स्वास्थ्यमा समेत सकारात्मक असर पुग्ने स्थानीय सरकारको बुझाइ छ । 

कृषिमा अनुदान नै अनुदान

नागरपालिकाले कृषकहरुलाई पेशामा आकर्षित गर्न दूधदेखि लिएर हाटबजारसम्ममा अनुदान नीति लिएको छ । नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहन गर्न प्रतिलिटर ५ रुपैयाँ अनुदान दिएको छ भने केरा उत्पादन गर्ने कृषकले प्रति कोसा २ रुपैयाँ अनुदान पाउँछन् । 

वर्षमा सबैभन्दा वढी तरकारी फलाउने कृषक हरेक वर्ष नगरपालिकाबाट पुरस्कृत हुन्छन् । एकजना कृषकले २२ हजारसम्म पुरस्कारस्वरुप वुझ्ने गरेको मेयर घर्तीको भनाइ छ । 

यतिमात्र होइन, नगरपालिकाले तय गरेको कृषि हाटमा सामान बेच्न ल्याउने कृषकले प्रतिकिलो १ रुपैयाँका दरले अनुदान पाउँछन्, नगरपालिकाबाट । 

हरेक वडा पकेट क्षेत्र 

उपमेयर आचार्यका अनुसार नगरपालिकाले हरेक वडालाई पकेट क्षेत्र बनाएर कृषि विकासका काम गरिरहेको छ । 

पकेट क्षेत्रअन्तर्गत वडा नं. १ मा लसुन, २ मा तरकारी ३ मा गहुँ, ४ मा धान, ५ मा मौरी, ६ मा मकै, ७ मा सुन्तला र तरकारी, ८ मा बेसार, ९ मा अदुवा र वडा नं. १० आलु र सुन्तला उत्पादनका कार्यक्रमहरू संचालनमा छन् । 

कृषकहरूको मागलाई मध्यनजर गर्दै नगरका २०० स्थानको माटो परीक्षण जियो म्याप बनाउने कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाको भनाइ छ ।

उपाध्यक्षका अनुसार सीप विकासअन्तर्गत नगरका ३३२ जनालाई अल्लो प्रशोधन, कृषि औजार निर्माण मर्मत, बाख्रापालन, पञ्चेबाजा तालिम र सिलाइ कटाई विषयमा मेडप कार्यक्रमअन्तर्गत सीप विकास तथा स्तरोन्नति तालिम सञ्चालन भएको छ ।

विदेशबाट फर्केका ४२ जना युवाहरूका लागि १७ लाख २० हजार बराबरको उद्यमशिलता विकासका लागि कार्यहरू भइरहेका छन् । पहिलो चरणमा ३२ जना युवाहरूका लागि ३ दिने व्यावसायिक पशुपालन तालिम सम्पन्न भइसकेको उपमेयरको भनाइ छ । 

प्रधानमन्त्री रोजगारअन्तर्गत ६३ आयोजनामा १४८ जना स्वरोजगार भएका छन् ।

सेफ हाउस अर्को उपलव्धि 

नगर प्रमु्ख घर्तीका अनुसार गरपालिकाले प्रदेशिक अस्पतालको हाताभित्र सेफहाउसको सञ्चालन गरेको छ । 

जहाँ अहिले १५ जना सुरक्षित गृहमा बसिसकेका छन् । घरेलु हिंसा खेपेका महिलाहरुको अश्रयस्थलका रुपा जिल्लाका सबै पालिकाका महिलाहरुलाई यसले सेवा दिएको उनको भनाइ छ । यो हाउसमा जन्मिएका बालबच्चाका कानुनी व्यवस्थापनदेखि  पठनपाठनको व्यवस्थापनसम्म नगरपालिकाले जिम्मा लिदै आएको मेयरको भनाइ छ । 

नगरपालिकाले लघु उद्यमम्वन्धि कार्यक्रमलाई समेत निरन्तरता दिएको मेयरको भनाइ छ ।  साबुन उद्योग स्थापनादेखि कृषिमा आलु पकेट क्षेत्र र मौरी पालनसम्मका स्वरोजगारमूलक अभियानमा स्थानीयलाई जोड्न विभिन्न कार्यक्रम संचालन गरिरहेको मेयरको भनाइ छ । 

युद्ध पर्यटनका लागि टावरदेखि गुरिल्ला पदमार्गसम्मका योजना

नगरपालिकाले माओवादी शसस्त्र बिद्रोहको उद्गम थालो रोल्पाको योगदान अविष्मरणीय राख्न युद्ध पर्यटनको अवधारण अघि सारेर काम थलोको छ । 

पालिकाभित्र जनयुद्ध स्मृति भ्यू टावर निर्माण भएको मेयरको भनाइ छ । । १० तलाको यो टावरमा युद्धका क्रममा राज्य र बिद्रोही दुवै पक्षबाट मारिएका जिल्लाका १ हजार ३०० जनाको नाम लेखिएको छ  । यसलाई जनयुद्ध संग्राहलयका रुपमा विकास गरेर नगरभित्र पर्यटक तान्ने योजना रहेको मेयर घर्तीको सुनाउँछन् । 

नगरपालिकाले माओवादीका लडाकूले युद्धका बेला प्रयोग गरेका बाटोलाई गुरिल्ला पदमार्गका रुपमा विकास गर्नेदेखि लिएर लडाकूहरु बास बस्ने स्थललाई समेत पर्यटक आकर्षित गर्ने गरी व्यवस्थापनको काम अघि वढाइसकेको मेयरको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update