Odapalika - The Fourth Estate - चौथो अंग
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली चीन भ्रमणमा गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट चेम्बरले पनि सहभागिता जनाउन लागेको हो । 

भ्रमण टोलीमा अध्यक्ष राजेन्द्र मल्ल, निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधर रहेका छन् ।

भ्रमणका क्रममा चिनियाँ निजी क्षेत्रसंग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे छलफल हुने अध्यक्ष मल्लले बताए । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीचका निजी क्षेत्रबीच दुई पक्षीय व्यापार सहजीकरण, पूर्वाधारमा लगानी लगायतका विषयमा छलफल हुुँदैछ । नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर ब्यापार सहजीकरण गर्ने विषय चेम्बरको प्राथमिकतामा रहेको बताए ।

नेपाल चीनबीच यसअघी भएको पारवहन  सम्झौताको प्रभावकारी कार्यन्वयन एवं उत्तरी छिमेकीसँगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा चीनको निजी क्षेत्रसँग छलफल गर्ने चेम्बरले जनाएको छ । 

अध्यक्ष मल्लले भन्सार नाकाहरुमा अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए । नेपालबाट चीनमा बार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update