Odapalika - The Fourth Estate - चौथो अंग
लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणले आयोजना गरेको बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।

‘बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरूले लक्ष्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छ, जोखिमांकन राम्रोसँग गर्नुपर्छ, कानून, नियम, निर्देशिका र निर्देशनहरू पूर्णरुपमा पालना गर्नुपर्छ, कानून, नियम, निर्देशिका विपरित कार्य गरेमा अबको कारवाही स्थानीय कर्मचारीसम्म पुग्छ, सजक भएर काम गर्नुहोला,’ अध्यक्ष सिलवालले भने ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको भन्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।

कार्यक्रममा बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले बीमा अभिकर्ता एक बीमकबाट अर्कोमा जानपाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बीमामा उच्च र न्यून जोखिम दुबैलाई एकै किसिमको बीमादर रहेको गुनासो रहेको, जीवन बीमालेखबाट बीमा कर्जा लिन कठिन भएको, लघुबीमामा टिकट दस्तूर बढी भएको, लघूबीमामा नयाँ बीमालेखको अभाव देखिएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा अभिकर्ताको सिस्टम निर्माणको क्रममा रहेको जानकारी दिदै प्राधिकरणबाट जारी निर्देशिका बमोजिम काम गर्न निर्देशन दिए ।

कार्यक्रममा रिलायबल नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नाराणबाबु लोहनी, नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update