
दैलेख । कुनै समय थियो, गम्भीर विरामी हुँदा पनि भैरवी गाउँपालिका दैलेखका राउटे समूह जंगलमै पाइने जडिबुटीबाट उपचार गर्थे । सामान्य देखि गम्भिर बिरामी पर्दा होस वा चोटपटक लाग्दा राउटेहरु उपचारका लागि जंगलकै जडीबुटी प्रयोग गर्थे ।
हरेक राउटे महिला जीवन जोखिममा राखेर बच्चा जन्माउँथे । कतिपयले जीवन नै गुमाउँथे, त्यो पनि जंगलमै । वनजंगलमा जीवनयापन गर्दै आएका यो समुदायमा स्वास्थ्य चौकी, अस्पताल होस या मेडिकलमा उपचार गर्न जान डराउँथे ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाहरुलाई भत्ताको व्यवस्था गरेपछि गैरराउटे स्वास्थ्य संस्थामा सुरक्षित बच्चा जन्माउन थाले पनि राउटे समुदायका महिलाहरु अझै पनि स्वास्थ्य संस्था जादैनन् । नेपालको सम्पदा मानिने दक्षिण एशियाको एक मात्र भ्रमणशिल जाति राउटे समुदाय यहीकारण संकटमा छ ।
चोटपटक लागे र बिरामी भए जडीबुटी र झारफुककै भर पर्ने यो समुदाय औषधि उपचारमा विश्वास गर्न थालेको छ । पछिल्लो समय यो समूह सानो चोटपटक लाग्ने बित्तिकै स्वास्थ्यकर्मी खोज्ने गरेको सोसेक नेपालद्धारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत अहेब बिनोद कुमार बिसी बताउँछन् ।
प्रसूति गराउन स्वास्थ्य संस्थामा नगएपनि पछिल्लो समय आधुनिक औषधिप्रति विश्वास गर्न थालेका छन् । राउटे समूहका युवा गोबिन्द बहादुर शाही र खगेन्द्र शाही जंगलमा काठ काट्दै गर्दा घाइते भए । स्वास्थ्यकर्मीलाई आफ्नो समस्या देखाउदै उपचार गराए ।
केही बर्ष अघि महिनबहादुर शाहीकी पत्नी दुनी शाहीको खुट्टामा क्यान्सर भएको थियो । काठमाडौँ गएर खुट्टाको शल्यक्रिया गरेपछि उनी गाउँ डुल्न सक्ने भएकी छन् ।
उपचारका लागि स्वास्थ्य संस्थामा नगएपनि बस्तीमा उपचार गर्न आउँदा सजिलै स्वीकार गर्ने गरेको राउटे समुदायमा कार्यरत शिक्षक लाल बहादुर खड्का बताउँछन् ।