Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले हरेक वडामा स्नान कक्षसहितको शौचालय बनाउने, जावलाखेलमा भने स्मार्ट 

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउने भएको छ । सार्वजनिक शौचालय निर्माणका लागि शुक्रबार एरोसान सस्टेनेबल स्यानिटेसन प्रालिसँग सझदारी पत्रमा हस्ताक्षर भएको छ । 

समझदारी पत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र प्रालिका अध्यक्ष प्रत्युषचन्द्र अमात्यले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रमपछि नगरप्रमुख महर्जनले यसअघि एरोसानले निर्माण गरेको शौचालयको प्रशंसा गरे । एरोसानले मंगलबजार र पाटनढोकामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिसकेको छ । 

एरोसानका कार्यक्रम प्रमुख सोनी अमात्यले ललितपुर महानगरपालिकाकै कारण एरोसानले सार्वजनिक शौचालय निर्माणमा ख्याति कमाएको स्मरण गरिन् ।

बनिसकेको र अब बन्ने शौचालयको सरसफाइ र व्यवस्थापनलाई चुस्त राख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् । एरोसानले काठमाडौैंमा ६ वटा, ललितपुरमा २ वटा शौचालय निर्माण गरिसकेको छ । पोखरा र भरतपुर नगरपालिकामा पनि एरोसानले शौचालय निर्माणको योजना बनाएर अघि बढेको छ । 

वडैपिच्छे शौचालय बनाउँदै महानगर 

ललितपुर महानगरले प्रत्येक वडामा स्नान कक्षसहित शौचालय निर्माण गर्ने भएको छ । महानगरको २९ वटा वडामध्ये हाल ८ वटा वडामा शौचालय निर्माणका लागि टेण्डर भइसकेको छ । यी शौचालयको स्वरुप एकै खालको हुनेछ । 

नगर प्रमुख महर्जनले भने, ‘टाढैबाट शौचालय हो भनेर चिनिने होस् भनेर एउटै डिजाइन दिएका छौँ । यी शौचालय अपाङ्गता मैत्री हुनेछन् ।’  महानगरले केही अघि भारत र बंगलादेशका सार्वजनिक शौचालयका बारेमा स्थलगत अवलोकन गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update