Odapalika - The Fourth Estate - चौथो अंग
खाँडादेवी गाउँपालिकामा यसरी हुर्किदै छन् मेवाका बोट, किसान उत्साही

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका किसान व्यावसायिक मेवा खेतीमा लागेका छन् । 

किसानलाई खाँडादेवी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र गाउँ विकास केन्द्रको सहजिकरणमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता कार्यक्रमले उन्नत जातका मेवाका बिरुवा, सिँचाइको लागि ट्याङ्की, पाइप लगायतका सामाग्री तथा प्राविधिक सहयोग उपलब्ध गराएपछि किसानले व्यावसायिक रूपमा नै मेवा लगाएका छन् । 

खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ८ का किसानले मेवा खेती लगाएका छन् । वडा नं ४ को माडी र वडा नं ८ को गागलटार मेवा उत्पादनको लागि उपयुक्त भूमि र हावापानी भएकोले परियोजनाले किसानलाई मेवा खेतीमा उत्प्रेरित गरेको छ । दुईवटा वडामा अहिले ४ हजार ५०० बढी मेवा फल्न थालेका छन् । 

परियोजनाले किसानलाई ६ हजार बढी मेवाका बिरुवा वितरण गरेकोमा अहिले ४ हजार ५०० बढीले उत्पादन दिन लागेको परियोजना संयोजक माधव ढकालले बताए । ‘गएको आर्थिक वर्षमा ६ हजार बिरुवा वितरण गरियो, ती मध्ये केही वर्षाले चुटेर मरे, केही रोग लागेर मरे, ४५ सय बढी बिरुवाले भने उत्पादन दिन लागेका छन्’, उनले भने । 

वडा नं ८ गागलका एकै जना किसानले ५०० बोट मेवा लगाएका छन् । गागलका भक्तबहादुर तामाङले ५०० बोटभन्दा बढी मेवा लगाएका छन् । ‘एकै वर्षमा फल फल्न लागेको छ, केही बिरुवा रोग लागेर मरेका छन्, यस वर्ष राम्रो भयो भने अर्को वर्ष अझै थप्ने योजना छ’, तामाङले भने । 

गगलकै बद्री कार्कीले ३ सय ५० बोट मेवा लगाएका छन् । त्यस्तै सोही स्थानका उद्धव कार्कीले १५० बोट मेवा लगाएका छन् । गागलका १७ घर किसानले व्यावसायिक रूपमा मेवा खेती लगाएका छन् । 

वडा नं ४ माडीमुहानमा पनि चार जना किसानले व्यावसायिक रूपमा मेवा खेती लगाएका छन् । वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले नै १ सय ५० बढी मेवा लगाएका छन् । त्यस्तै सन्तोष पौडेल, केदार प्रसाईँ लगायतले पनि व्यावसायिक रूपमा मेवा लगाएका कार्यक्रम संयोजक ढकालले बताए । 

सो परियोजनाले मेवा खेतीका साथै बाख्राको खोर सुधार, कागती लगायतका अमिलो जातका फलफूल खेती प्रवर्धन, मकै पकेट क्षेत्र लगायतको क्षेत्रमा काम गरिरहेको छ । जसले गर्दा किसानलाई व्यावसायिक बनाउन सहयोग गरेको छ । 

कृषि नै विकासको आधार भएकोले कृषि तथा पशुपालन प्रवर्धन गाउँपालिकाको प्राथमिकतामा रहेको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्य र पालिका आफ्नै बजेटबाट पनि कृषि क्षेत्रको प्रवर्धनको लागि काम गरिने उनले बताए । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update