Odapalika - The Fourth Estate - चौथो अंग
श्रमिक चाहियो ? काठमाडौँ महानगरको श्रम बैँकमा सम्पर्क गर्नू 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा ४०० जनाको आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म ४०० जनाको आवेदन परेको कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।

उनका अनुसार कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । सोहीअनुसार महानगरले आवेदन माग गरेको हो ।

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रमुख राईले जानकारी दिइन् ।

महानगरले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको छ । संकलन भएका आवेदनबाट प्राथमिकीकरण गरेर श्रम बैंकमा आवद्ध भएका श्रमिकको प्रयोग र परिचालन गरिने महानगरले जनाएको छ । 

कामपाले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम लिस्ट हुन्छ । जहाँ श्रमिकको ज्याला दर, कामको प्रकार फोन नम्बर र श्रमिक कहाँ बस्नेसमेत उल्लेख गरिएको हुन्छ । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको सहजरूपमा श्रमिक उपलब्ध गराई सीप, क्षमता भएका श्रमिकलाई काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गरी रोजगार दिलाउनु हो ।

कामपाले चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत भर्नुपर्ने छ । आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएको छ । फारम आफू बसेको वडा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउन पर्नेछ ।

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने बताइएको छ । यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update