Odapalika - The Fourth Estate - चौथो अंग
३ संसदीय समितिका बैठक आज, पुग्लान त मन्त्री ?  

काठमाडौं । संघीय संसदका ३ वटा समितिहरुले आज राजदूत नियुक्तिदेखि शिक्षा मन्त्रालयका चुनौतीसम्मका विषयमा छललफल गर्दै छन् । 

सिंहदरवारमा बस्ने यी बैठकमध्ये एउटा प्रतिनिधिसभा अन्तर्गतको, एउटा राष्ट्रियसभा अन्तर्गतको र एउटा संयुक्त समितिको हो । 

संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिले दिउँसो ११ बजे प्रस्तावित राजदूतहरुका विषयमा सुनुवाइ गर्दै छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि ११ बजे नै शिक्षा मन्त्रालयको अवस्था, समस्या र चुनौतीका विषयमा छलफल गर्दै छ । 

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भने संसदीय समितिहरुका शासन आदेश, यी समितिहरुको अनुगमन तथा मूल्यांकन चेकलिष्टका विषयमा छलफल गर्दै छ । 

तर मन्त्री अभावमा हुन्छ स्थगित 

समितिलेहरुले नियमित बैठक राख्ने गरेपनि सम्वन्धित विभागीय मन्त्रीले वेवास्ता गरेका कारण समितिका बैठकहरु स्थगित हुन थालेका छन् । 

मंगलवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, अध्यागमन विधेयक र विद्युतीय कारोबार सम्बन्धी विधेयकमाथि दफावार छलफलको एजेण्डा तोकेको थियो । तर सम्बन्धित मन्त्रीले समय नदिएका कारण बैठक नै स्थगित भयो । 

‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा रहेको तथा अध्यागमन बिधेयक र विद्युतीय कारोबार सम्बन्धी बिधेयकका लागि सम्वन्धित मन्त्रीका समय उपलब्ध हुन नसकेका कारण बैठक स्थागित भएको हो,’ राष्ट्रियसभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले भने । 
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update