Odapalika - The Fourth Estate - चौथो अंग
खिजीदेम्वामा गम्बुको पहलः प्रत्येक महिनाको ३ गते प्रअसँग अनिवार्य मिटिङ

काठमाडौँ । कोशी प्रदेश अन्तरगतको ओखलढुंगा जिल्लाको खिजीदेम्वा गाउँपालिकाका अध्यक्ष गम्बु शेक्र्षाले समुदायिक विद्यालयको शिक्षाको अवस्था सुधार गर्न एउटा अभ्यास सुरु गरेका छन् । 

आफू निर्वाचित भएर आएपछि गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक (प्रअ) हरुको मासिक बैठक अनिवार्य गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

‘हामीले शिक्षा ऐनमा नै आवश्यक संशोधन गरेका छौं । संशोधन मार्फत हाम्रो गाउँपालिकाको लागि आवश्यक व्यवस्थाहरु राखेका छौं । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार होस भनेर हामीले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग प्रत्येक महिनाको ३ गते अनिवार्य रुपमा बैठक बस्ने व्यवस्था मिलाएका छौं,’ अध्यक्ष शेर्पाले वडापालिकासँग भने । 

यस्तो बैठकमा सामुदायिक विद्यालयहरुमा आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण, जनशक्ति लगायतका प्राविधिक विषयमा पनि सम्बन्धित विद्यालयहरुबाट प्रस्ताव आउने र आफूहरुलाई आवश्यक निर्णय गर्न सहज हुने अध्यक्ष शेर्पाको भनाइ छ । 

‘मासिक समीक्षा बैठकमा प्रअहरुले आफ्नो विद्यालयको बारेमा हामीलाई सम्पूर्ण विषय अवगत गराउनु हुन्छ । त्यसपछि सो विद्यालयका बारेमा गाउँसभाले निर्णय गर्नुपर्ने हो कि, बोर्डबाट निर्णय गर्नुपर्ने हो कि, गाउँपालिकाबाट निर्णय गर्नुपर्ने हो कि सोही अनुसारको प्रस्ताव बनाएर अघि बढाउँछौं । सार्वजनिक शिक्षाको गुणस्तर बृद्धिमा हाम्रो विशेष ध्यान छ,’ अध्यक्ष शेर्पाले भने ।

ओखलढुंगाको सो गाउँपालिकामा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका शेर्पा निर्वाचित भएका थिए । सो गाउँपालिकाभित्र ३७ वटा सामुदायिक विद्यालय छन् । यसमध्ये ७ वटा माध्यामिक विदालय र बाँकी प्राथमिक तथा निम्न माध्यामिक विद्यालयहरु छन् । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update