Odapalika - The Fourth Estate - चौथो अंग
खाँडादेबी गाउँपालिकाका स्मार्ट चौतारा, जहाँबाट विश्व भ्रमणमा निस्कन्छन् स्थानीय 

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले सुरु गरेको स्मार्ट चौतारो नयाँ र पुरानो पुस्तालाई जोड्ने संगमस्थल बनेको छ । 

सो गाउँपालिकाले गाउँमा बनाइएका विश्रामस्थल, प्रतीक्षालय तथा चौताराहरूलाई आधुनिक सञ्चार प्रविधि जोडिदिएर स्मार्ट चौतारो बनाइदिएको छ । जसमा स्थानीयहरू भेला भएर भौतिक रूपमा मात्र होइन अनलाइनमार्फत पनि कुरा गर्न सक्ने भएका छन् । 

खाँडादेवी गाउँपालिकाका सूचनाप्रविधि अधिकृत अर्जुन तामाङकाअनुसार सो गाउँपालिकाअन्तर्गतका विभिन्न वडाका २० ठाउँमा स्मार्ट चौतारा बनाइएका छन् । यस अघि स्थानीयले बनाएका विश्रामस्थल, प्रतीक्षालय तथा चौतारालाई गाउँपालिकाले स्मार्ट चौतारो बनाइदिएको उनले बताए । 

त्यस्ता चौताराहरूमा गाउँपालिकाले निःशुल्क टेलिफोन, इन्टरनेट, मोबाइल चार्ज गर्ने प्रविधि जडान गरिदिएको छ । ‘पहिला नै बनेका संरचनामा गाउँपालिकाले स्मार्ट प्रविधि जडान गरिदिएको हो, फोन इन्टरनेट, मोबाइलको चार्जर, सीसी क्यामरा तथा सोलारको ब्याक अप जडान गर्दा एउटा चौतारोमा प्रविधि जडान गर्न ४० हजार रुपैँया जति खर्च लागेको छ’, उनले भने । 

smart-chautari-khandadevi (1)1695623890.jpg

प्रविधि जडान गरिसकेपछि फोनको लागि वार्षिक ३ हजार र इन्टरनेटको लागि वार्षिक १० हजार रुपैँया खर्च लाग्ने तामाङले बताए । त्यो खर्च गाउँपालिकाले नै तिरिदिने पनि उनले जानकारी दिए । 

एउटा मोबाइलमा एक दिनमा डेढ घण्टासम्म नेट चलाउन मिल्ने व्यवस्था मिलाइएको उनले बताए । 

‘अत्यावश्यक सेवा र सूचना लिउन् तर अनावश्यक रूपमा नेटमा नअलमलिउन् भनेर यस्तो गरिएको हो’, उनले भने । 

हाल स्मार्ट प्रविधि जडान गरिएकामध्ये खाँडादेवी गाउँपालिका–३ को भिरपानी र खाँडादेवी मन्दिरमा नयाँ विश्रामस्थलसहित स्मार्ट प्रविधि जडान गरिएको भएपनि अन्यत्र भने पुरानै ठाउँमा प्रविधि जडान गरिएको उनले जानकारी दिए । 

ती ठाउँमा भने यूभी प्रोटेक्टीभ मेसिनबाट फिल्टर गरिएको स्वच्छ पिउने पानीको पनि व्यवस्था गरिएको उनले बताए । 

नेपाल टेलिकमको सिमबाट सञ्चालन गरिएको इन्टरनेटमा खाँडादेवी मन्दिर लगायतका केही ठाउँमा समस्या आएको तामाङले बताए । ‘त्यहाँ नेटवर्कले त्यति राम्रो काम नगर्दा इन्टरनेट चल्न सकेन, त्यस्ता ठाउँमा फाइबर नेट जडान गर्ने योजना गाउँपालिकाले बनाएको छ’, उनले भने ।   

smart-chautari-khandadevi (3)1695623888.jpg

स्मार्ट चौताराहरू गाउँका मानिस भेला भएर, इन्टरनेट चलाउने, अत्यावश्यक काममा टेलिफोन गर्ने, गाउँबाहिर सहरमा रहेको आफन्तसँग सम्पर्क गर्ने थलो भएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । ‘गाउँमा भएका युवाहरू पनि एकछिन नेट चलाउन जम्मा हुन्छन्, बुढापाकाहरू पनि दुःख सुखका कुरा गर्न र सहरमा रहेको आफन्तसँग नेटमा कुरा गर्न जम्मा हुन्छ, ती स्थानहरू जमघट हुने थलो बनेको छन्, पुराना र नयाँ पुस्तालाई जोड्ने ठाउँ बनेका छन’्, उनले भने ।  

बस्तीलाई केन्द्र विन्दु बनाएर मागको आधारमा टोल टोलमा स्मार्ट चौतारो बनाउने कामलाई निरन्तरता दिने श्रेष्ठले बताए । ‘१० घरसम्मको बस्ती भएको ठाउँबाट माग आयो भने हामी सबै ठाउँमा स्मार्ट प्रविधि जडान गरिदिन्छौँ, यो समयको माग हो’, उनले भने ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update