Odapalika - The Fourth Estate - चौथो अंग
नोबेल एकेडेमीले लिन्छ क्यारेक्टर सर्टिफिकेटकाे ५ हजार शुल्क

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा रहेको नोबेल एकेडेमीले विद्यार्थीसँग शैक्षिक गतिविधिबाहेकमा पनि अस्वभाविक अतिरिक्त शुल्क लिन गरेको तथ्य फेला परेको छ ।

वडापालिका डटकमले प्राप्त गरेको जानकारीमा नाबेल एकेडेमीले कक्षा १२ को क्यारेक्टर सर्टिफिकेट लिनको लागि प्रतिविद्यार्थी ५ हजार रुपैयाँ शुल्क तोकेको छ ।

नोबेल एकेडेमीले क्यारेक्टर सर्टिफिकेट लिनको लागि आवश्यक कागजातमा ५ हजार रुपैयाँ पनि शुल्क लाग्ने भनिएको हो ।  नोबेलबाट कक्षा १२ पास गरेका विद्यार्थी अनावश्यक रुपमा ५ हजार अतिरिक्त शुल्क तिर्नु परेको छ । 

नोबेलले कक्षा १२ को क्यारेक्टर सर्टिफिकेट लिन ६ प्रकारको कागजात चाहिने भनेको छ । त्यसमा कक्षा १० को क्यारेक्टर सर्टिफिकेटको फोटोकपी, कक्षा ११ को ग्रेडसिट फोटोकपी,  कक्षा १२ को ट्रान्सक्रिप्टको फोटोकपी, नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको फोटोकपी, कलेज ड्रेस लगाएको २ प्रति फोटो र ५ हजार रुपैयाँ बुझाउनु पर्ने भनिएको छ । 

कक्षा १२ पास गरेपछि स्नातक अध्ययन गर्नुपर्छ । स्नातक अध्ययन गर्नको लागि क्यारेक्टर सर्टिफिकेट अनिवार्य हुन्छ । क्यारेक्टर सर्टिफिकेटविना कुनै पनि क्याम्पसमा स्नातकमा भर्ना हुन सकिदैन । यही वाध्यताको फाइदा उठाएर नोबेलले महंगो शुल्क लिने गरेको हो ।

काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सिताराम कोइराला क्यारेक्टर सर्टिफिकेट दिदा स्कुलहरुले कतिसम्म शुल्क लिन पाउने भनेर खास नियम नबनेको बताउँछन् ।

‘क्यारेक्टर सर्टिफिकेट दिदा स्कुलले लिने शुल्क स्कुलपिच्छे फरक फरक हुन सक्छ । यसको खास नियम बनेको छैन,’ शिक्षा अधिकारी कोइरालाले वडापालिकासँग भने ।

कानुनको यही कमजोरीमा छिरेर नोबेलले क्यारेक्टर सटिर्फिकेटमा महंगो शुल्क लिने गरेको अभिभावकहरुको गुनासो छ । 

‘स्कुलमा पढुन्जेल जेजेमा जतिजति माग्छन्, त्यति पैसा दिइयो । त्यस स्कुलबाट पास भएर जाने बेलामा क्यारेक्टर सर्टिफिकेटको शुल्क भन्दै थप ५ हजार रुपैयाँ नतिरी नहुने बनाएका छन् । पढुन्जेल जति सकिन्छ, त्यति लुटे, विदावारी हुने बेलामा पनि सम्झी सम्झी लुटेका छन्,’ नोबेल एकेडेमीबाट ५ हजार रुपैयाँ शुल्क तिरेर क्यारेक्टर सर्टिफिकेट लिएका एक अभिभावकले वडापालिकासँग भने ।

नोबेल एकेडेमीका प्रिन्सिफल रविन दाहालसँग कुरा हुन सकेन । एकेडेमी प्रमुख राजकुमार आचार्य संचालक समितिले तोकेर दिएको शुल्क फाइनान्सले उठाउने गरेको र आफूलाई धेरै कुरा जानकारी नभएको बताउँछन् ।

‘बोर्डले तोकेको शुल्क फाइनान्सले लिने हो, मलाई पनि धेरै कुरा थाहा छैन,’ आचार्यले भने । स्रोतका अनुसार नोबेलले  गतवर्ष क्यारेक्टर सर्टिफिकेटको लागि ४५ सय रुपैयाँ लिने गरेकोमा यसपाली ५ सय रुपैयाँ बढाएर ५ हजार रुपैयाँ पुर्याएको हो ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update