Odapalika - The Fourth Estate - चौथो अंग
ताप्लेजुङका ८ स्थानीय तहलाई अलैँची खेतीमा ८५ प्रतिशतसम्म अनुदान, यस्ता छन् सर्त 

ताप्लेजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ताप्लेजुङका ८ वटा स्थानीय तहलाई सामूहिक अलैँची र मकै खेतीका लागि ८५ प्रतितसम्म अनुदान दिने भएको छ । 

परियोजनाले फुङलिङ नगरपाकिलाका सबै वडा, आठराई त्रिवेणी गाउँपालिकाका ३, ४ र ५ नम्बर वडा तथा मौवा खोला गाउँपालिकाका १ देखि ६ नम्बरसम्मका वडामायो परियोजना अन्र्तगतको अनुदान दिने भएको हो । 

परियोजनाका अनुसार मारिङदेन गाउँपालिकाका १ देखि ६ नम्बरसम्मका वडा, मिक्वाखोला र फक्ताङ्लुङका गाउँपालिकाका सबै वडा तथा पाथिभरा याङवरकका १ र ३ नम्बर वडामा यो परियोजना अन्तर्गतको अनुदानसहितको सहकार्य गर्ने भएको छ । 

२९ असोजसम्मको समय दिएर परियोजनाले निश्चित सर्तको अधिनमा रहेर कृषक समूह र कृषि सहकारीहरुलाई निवेदन दिन भनेको छ । 

परियोजनाले चाक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन वृद्धिका लागि पुँजीगत सहयोग गर्ने छ । जसका लागि समूह या सहकारीले न्युनतम ७ हेक्टर जग्गामा खेती गरिने क्षेत्र तय गर्नुपर्नेछ । 

जोन र सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरणका लागि  परियोजनाले ५० प्रतिशत अनुदान दिने छ भने साना सिंचाइ निर्माण र मर्मतमा ८५ प्रतिशतसम्मको साझेदारी गर्ने छ । 

स्थानीय तहसँगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापना र सुदृढीकरणका लागि ५० प्रतिशत, अलैँची जोन र सुपरजोन क्षेत्रमा थप ३५ हेक्टर क्षेत्रफल विस्तारका लागि ५० प्रतिशत र अलैँची ब्राण्डिङका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । 

अलैँची भण्डारण, प्रशोधन तथा प्रशोधन उद्योग खोल्न र खोलिएका उद्योग सञ्चालन गर्न पनि ५० प्रतिशत अनुदान दिने परियोजनाले जनाएको छ । 

परियोजनाका अनुसार अलैँची र मकै जोन क्षेत्रमा पर्ने कृषकहरुले कुनै एक वालीको जोनमा मात्र निवेदन दिन पाउने भनिएको छ । 

अनुदानका लागि बाँझो या यसभन्दा अघि वाली नलगाइएको र एउटै क्लष्टरको जग्गा हुनेलाई मात्र यस्तो अनुदान दिइने परियोजना इकाइ कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख खगेन गुरुङले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update