Odapalika - The Fourth Estate - चौथो अंग
वागलुङ्गे कृषकका तरक्की : सहरको पैसा गाउँमा, गाउँका दूध विदेशमा 

बागलुङ । वाग्लङका ३ स्थानीय तहका कृषकहरुले सहकारीमार्फत दूध बिक्री गरेर करोडौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । 

काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाका किसानले दूध बेचेरै तरक्की गरिरहेका छन् । 

जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् भने । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत बजारमा दूध बेचिरहेका छन् । 

संघले एक वर्षमा दूधवापतमात्र २ स्थानीय तहका कृषकलाई ७ करोड ३४ हजार रुपैयाँ भन्दा वढी रकम भुक्तानी गरेको जनाएको छ । 

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७९/८० मा सहकारीमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण गरेर सहरको पैसा गाउँसमम लगेका छन् । 

दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला–८ मा रहेको गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मीनप्रसाद कँडेलले बताए ।

काठेखोला–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका सेयर सदस्यले मात्रै दैनिक ३०० लिटर दूध सहकारी संघलाई बेच्ने गरेका छन् । 

बागलुङ दुग्ध उत्पादक सहकारी संघले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका सेयर सदस्य किसानबाट ९ करोड रुपैयाँ बढीको दूध खरिद गरेर बिक्री गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए । 

‘हामीले सहकारीमा आबद्ध किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गरेका छौँ । पशु बीमा, औषधिलगायतका कार्यक्रम सञ्चालन गरेर किसानलाई विभिन्न तरिकाबाट सहयोग गरिरहेका छौंँ’ उनले सुनाए ।

थोरै दूध उत्पादन गर्ने किसानले दूध सहकारीमा जम्मा गरेर सहकारीमार्फत एकमुष्ट बागलुङ बजारमा ल्याउँदा बजारीकरणमा सहज भएको किसानको अनुभव छ । 

यो सहकारीले संचालन गरेको दुग्ध उद्योगबाट छुर्पीलगायतका उत्पादन विदेश निर्यातसमेत हुने गरेका छन् । संघमामात्रै १५ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । 

दूधलाई एकत्रित गरी ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थहरु घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारीका प्रबन्धक वैकुण्ठप्रसाद शर्माले बताए । 

किसानको दूधको मूल्य तिरेर बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवद्र्धनात्मक काममा संघले लगानी गर्ने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update