Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुरलाइ हेर्न लायक स्मार्ट सिटी बनाउँछु

भरतपुर महानगरको प्रमुखका रुपमा दोस्रो कार्यकालको एक वर्ष पूरा भइसकेको छ । यो एक वर्षलाई कसरी समीक्षा गर्नु भएको छ ?

यो एक वर्ष पनि विशेष रह्यो । भरतपुर महानगर प्रमुखका रुपमा दोस्रो कार्यकाल सम्हाल्न आएपछि पदवालीका क्रममा दुई दुरगामी निणर्य गर्‍यौं । भरतपुरमा जन्मिने छोरीका लागि निःशुल्क जीवन बीमा र ७ युनिटसम्म पानी खपत गर्ने विपन्नलाई निःशुल्क खानेपानी । भरतपुर अहिले निर्माणको चरणमा छ । पहिलो कार्यकालमा सुरु भएका आयोजनालाई निरन्तरता र थप नयाँ आयोजना सुरु भएका छन् ।
हाम्रो ध्यान भरतपुरलाई दिगो ढङ्गबाट सन्तुलित विकास गर्नेतर्फ केन्द्रित छ । भरतपुरमा पूर्वाधार विकासमात्र भएको छैन, यहाँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा त्यही अनुपातमा काम अगाडि बढाएका छौं । यो एक वर्षमा भरतपुरमा रोकिएका कामलाई गति दिन सक्यौं । 
भरतपुर महानगरपालिका सहरी पूर्वाधार विकासमा ७५३ मध्ये उत्कृष्ट, वित्त आयोगको मूल्याङ्कनमा उत्कृष्ट, खेलकुद क्षेत्र उत्कृष्ट, बेरुजु कम र आर्थिक पारदर्शितामा अब्बल छ । यही नतिजाबाटै थाहा हुन्छ कि भरतपुरले विकासमा धेरै फड्को मारेको छ । यसलाई देशकै हेर्न लायक स्मार्ट सिटी बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।

भरतपुरको मेयरका रुपमा के के चुनौती देख्नु भएको छ ?

भरतपुरमा सम्भावना र चुनौती दुवै छन् । देशकै मध्य भागमा रहेको भरतपुरमा धेरै मनोविज्ञान भएका मानिसहरुको बसोबास छ । त्यही मनोविज्ञान र भावनालाई समेटेर लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौं । हामीलाई वर्षातको समयमा नारायणी र राप्ती तटीय क्षेत्रका घर परिवारको चिन्ता हुने गर्दथ्यो, त्यो अहिले हटेर गएको छ । नारायणीमा ४ अर्बको तटबन्धको काम हुँदैछ । राप्तीमा पनि आगामी वर्षमा बजेट विनियोजन गरेर यो कामको सुरुवात गर्ने गरी तयारी गरिरहेका छौं ।

भरतपुरलाई स्मार्ट सिटी निर्माण गर्ने गरी मास्टर प्लान (गुरुयोजना)अनुसार अगाडि बढेका छौं । महानगरको आफ्नै स्रोतको कमी छ । विभिन्न जिल्लाबाट आएर यहाँ बसोबास गर्नेहरुको संख्या पनि उल्लेख्य छ । त्यसैले सबैको प्रतिनिधित्व गरेर, सबैको चाहना अनुसार काम गर्न चुनौतीपूर्ण छ । यसका बाबजुद पनि धेरै काम भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण किन अलपत्र परेको हो ?

क्रिकेट रङ्गशालाको बाँकी निर्माणको कार्य अगाडि बढाउन महानगरपालिको तर्फबाट संघीय सरकारलाई पहल गरिरहेका छौं । राष्ट्रिय खेलकुद परिषदले पुलचोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा आउने आर्थिक वर्षमा काम सुरु गर्छ । लगातारको प्रयासबाट धुमुर्स-सुन्तली फाउण्डेशनले लगाएको ऋणबारे टुङ्गो लगाउन समय लाग्यो । अब रङ्गशाला निर्माण हुने पक्का भएको छ । राष्ट्रिय खेलकुद परिषदले बहुवर्षीय ठेक्का अनुसार छिटै काम सुरु गर्ने निणर्य पनि भएको छ ।

भरतपुरको बाटो, पुलपुलेसा, सडक, फुटपाथ लगायत भौतिक पूर्वाधारसहितको आधुनिक सुविधा सम्पन्न सहरको निर्माण कहिलेसम्म पूरा हुन्छ ?

मैले यसअघि पनि भनेको थिएँ, अहिले भरतपुर निर्माणको चरणमा छ । यहाँ ठूला र फराकिलो बाटो निर्माण भइरहेका छन् । भरतपुरका मुख्य सडकहरु निर्माण भइसकेका छन् । अब भित्री, सहायक सडक कालोपत्रे गर्न बाँकी छ । यो ६ वर्षको अवधिमा करिब ७ सय किलोमिटर सडक कालोपत्रे भइसकेका छन् । सडकसँगै पुलपुलेसा पनि त्यही अनुपातमा निर्माण भएका छन् ।

नारायणी सिग्नेचर ब्रिज निर्माण हुँदैछ । अबको २ वर्षपछि सडक निर्माणको काम लगभग सकिन्छ । हाम्रो प्राथमिकता सडकपछि हरियाली प्रवर्द्धन, सौन्दर्यीकरण र उत्पादनतर्फ छ । हामीले पहिलो कार्यकालमा जति पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका थियौं, अहिले भने उत्पादनलाई राखेका छौं । पूर्वाधारमा धेरै विकास भएको छ, अब हामी उत्पादन वृद्धि गर्ने गरी अगाडि बढेका छौं । महानगरको समग्र विकास गरेर आधुनिक सुविधा सम्पन्न सहर निर्माण गर्ने आधार पूरा हुँदै गएका छन् ।

महानगरको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नारायणी किनारमा फोहोर डम्पिङ गर्नुपर्ने अवस्था छ । फोहोर व्यवस्थापनको काम गर्न कोरियन कम्पनीसँग सम्झौता भए पनि किन कार्यान्वयन हुन नसकेको हो ?

हो, मेरो पहिलो कार्यकालमा अधुरो रहेका आयोजना पूरा गर्नुलाई नै आफ्नो दोस्रो कार्यकालको लक्ष्य बनाएकी छु । पहिलो कार्यकालमा अधुरो काम भनेको भरतपुर विमानस्थलको विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण र फोहरमैला ल्याण्डफिल साइट निर्माण हो । यीमध्ये दोस्रो कार्यकालको अहिलेसम्मको अवधिमा दुई वटा काम अगाडि बढेको छ । अब ल्याण्डफिल साइट निर्माण गर्ने काम बाँकी छ ।

कोरियन कम्पनीले कोभिडको कारण देखाउँदै सम्झौता अनुसार काम गरेन । संघीय सरकारसँग बहुवर्षीय रुपमा निर्माण गर्ने गरी बजेट माग गरेर भए पनि ल्याण्डफिल साइट निर्माण गर्ने संकल्प गरेका छौं । यो कार्यकालमा फोहोर व्यवस्थापनको कामले पूणर्ता पाउँछ । अहिले हामी विस्तृत परियोजनाको डिजाइन गरिरहेका छौं ।

आर्थिक उपार्जनका योजना, जनताको दैनिकी र आयआर्जनसँग जोडिएको विषय छुटेको जस्तो देखिन्छ नि, यसलाई कसरी सम्बोधन गर्ने योजना बनाउनु भएको छ ?

मलाई त्यस्तो लाग्दैन । हामीले उत्पादनमा जोड दिनु नै आफै स्वरोजगार हुनु हो । महानगरपालिकाले यस वर्षमात्रै २ हजार जनालाई निःशुल्क तालिम दिन लागेको छ । भरतपुरमा सन्तुलित विकाससँगै अबको आवश्यकता रोजगारी हो भन्ने निष्कर्षसहित आयआर्जनसँग जोडिएको कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौं ।

भरतपुरको ठूला निर्माण आयोजना निर्माण सम्पन्न भएसँगै प्रशस्त रोजगारी सिर्जना हुन्छ । जस्तै सिटी हल, रङ्गशाला, बहुउद्देश्यीय भवन, उद्योगग्राम, प्रदेशस्तरीय पार्क, नारायणी तटबन्ध लगायतका दर्जनौं आयोजना सम्पन्न भएसँगै हजारौंको संख्यामा रोजगारी सिर्जना हुँदैछ । त्यसैले अहिलेदेखि दक्ष जनशक्ति निर्माण गर्न निःशुल्क तालिम दिन लागेका छौं ।

कृषि र पशुपन्छीको क्षेत्रमा उत्पादनसँग जोडेर विशेष अनुदान उपलब्ध गराएका छौं । दुधमा प्रतिलिटर ३ रुपैयाँ नगद अनुदानले दुध उत्पादन र रोजगारी सिर्जना गर्न महत्त्वपूणर् भूमिका खेलेको छ । कृषिमा यान्त्रीकरण र आधुनिकीरणमा थुप्रै काम गरेका छौं । यसले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाको काम गरेको मैले पाएको छु ।

स्थानीय सरकार आफैंमा जनतासँग जोडिएको सरकार हो । प्रदेश र संघीय सरकारबाट कत्तिको समन्वय भएको पाउनु भएको छ ?

स्थानीय सरकारले जनताका सानोभन्दा सानो समस्या पनि बुझेको हुन्छ । र, सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्‍याउने स्थानीय सरकारको काम कर्तव्य हो । त्यही अनुरुप हामीले जनतालाई कसरी खुसी र सुखी बनाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेका छौं । भरतपुरलाई सभ्य र सुसंस्कृत सहर निर्माण गर्ने उद्देश्य अनुरुप अगाडि बढेका छौं । भरतपुरमा विकास त पर्याप्त भएको छ, अब भरतपुरलाई खुसी र सुखी सहर बनाउने हाम्रो लक्ष्य हो ।

भरतपुरको राजस्व संकलनबाट यहाँको विकास गर्न सम्भव छैन । प्रदेश र संघीय सरकारसँग गरेको समन्वयका आधारमै भरतपुरले विकासमा फड्को मारेको हो । यसका लागि पहल र तत्परता आवश्यक पर्छ । जति चासो र चिन्ताको साथ काम गरिन्छ, त्यस अनुपातमा मात्र सफल हुन सकिन्छ । हामीले संघ र प्रदेश सरकारको समन्वय र सहकार्यबाट महत्त्वपूर्ण उपलब्धी हासिल गरेका छौं ।

एउटा स्थानीय सरकारले चाह्यो भने कति काम गर्न सक्ने रहेछ ? तपाई आफैले कस्तो महसुस गर्नुभयो ?

सबैभन्दा पहिला त काम गर्ने हुटहुटी हुनुपर्‍यो । ईच्छाशक्ति र निरन्तरताले कुनै पनि काममा सफलता पाइन्छ । जनताको दैनिकीसँग जोडिएको सरकार भएकाले स्थानीय तहका जनप्रतिनिधि दिनरात नभनी खट्नुपर्छ । काम गर्न त्यति सजिलो छैन । खल्तीबाट बजेट आउने पनि होइन ।

सबैभन्दा धेरै समर्पित हुन जरुरी हुन्छ । सिर्जनशिलता र भिजन पनि चाहिन्छ । उद्देश्य निश्चित गरेर अगाडि बढ्नुपर्छ । सुसभ्य र सुशासनको प्रत्याभूति हुने गरी हामीले बनाउने ऐन, कानुन, कार्यविधिअनुसार अगामी कार्यदिशा अगाडि बढ्छ । देशमा रहेका ७५३ स्थानीय सरकारको लागि एउटै कानुन छ । तर, महानगरपालिकालाई त्यही कानुनमा टेकेर अगाडि बढ्नचाहिँ गाह्रो भएकै छ । यो संशोधन गरी अधिकार क्षेत्र बढाउनुपर्छ । तबमात्र भनेको जसरी काम गर्न सकिन्छ ।

तपाई प्रधानमन्त्रीको छोरीसमेत भएकाले जति गर्न सक्नुपर्ने थियो त्यति भएन, अझै धेरै काम गर्नुपर्ने थियो भन्छन् नि, यो टिप्पणीलाई के भन्नुहुन्छ ?

त्यो होइन । भरतपुरमा ०७४ सालमा मुख्य बजारी क्षेत्रबाहेक अन्य क्षेत्रमा कालोपत्रे सडक थिएन । अहिले तपाईले हेर्नुभयो भने सबै वडामा कालोपत्रे भएका छन् । विद्यालयहरु परम्परागत ढङ्गबाट चलेका थिए । त्यसलाई हामीले सुधार गर्‍यौं । तपाईले हेर्नुभयो भने यो ६ वर्षको अवधिमा ६० अर्बभन्दा बढी रकम भरतपुरमा ल्याउन सफल भएका छौं । भरतपुरमा सडक कालोपत्रे गर्न अब धेरै बाँकी छैन ।

तपाई भरतपुर महानगरको मेयरका रुपमा दोस्रो कार्यकालमा हुनुहुन्छ । यो कार्यकालपछि के गर्ने योजना बनाउनु भएको छ ?

जनप्रतिनिधि भनेको जनताको सेवक हो । सधै जनताको सेवामा समर्पित हुनेछु । जनताको चाहाना र भरतपुरको समग्र विकासको काम पूरा गर्नु मेरो यो कार्यकालको एकमात्र लक्ष्य हो । आगामी चुनावमा जनताले खोजे र पार्टीले निणर्य गरे कुनै पनि तहमा जनप्रतिनिधिका लागि तयार हुन्छु ।­­­­­­­­­­

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update