Odapalika - The Fourth Estate - चौथो अंग
लम्पी स्किनः ७१ जिल्लामा फैलियो, साढे ५ लाख गाई-भैँसी संक्रमित

काठमाडौं । नेपाली अर्थतन्त्रको साढे ११ प्रतिशत हिस्सा राख्ने पशुपालन क्षेत्र लम्पी स्किनलगायतका संक्रामक रोगका कारण संकटग्रस्त बन्दै गएको छ । 

पशुमा लम्पी स्किन, अफ्रिकन स्वाइन फिभर, खोरेत, पिपिआरजस्ता संक्रमण देखिइरहेका बेला पछिल्लो पटक लम्पी स्किनबाट देशभर साढे ५ लाख पशु संक्रमित भइसकेको नेपाल पशु चिकित्सा परिषदले जनाएको छ । 

परिषदका निमित्त रजिष्ट्रार डा. मनोजकुमार  शाहीका अनुसार लम्पी स्किनको संक्रमण ७१ जिल्लामा पुगिसकेको छ । 

‘हामीसँग उपलव्ध करिव एक महिना अघिको तथ्यांकका आधारमा मात्र भन्ने हो भने ७१ जिल्लामा संक्रमण फैलिएको छ भने २१ हजार पशु मरेका र साढे ५ लाख पशु बिरामी परेका छन्,’ डा शाहीले जानकारी दिए । 

यो भाइरस संक्रमण भएपछि पशुको मृत्यु हुने, दूध तथा मासु उत्पादन कम हुने, तुहिने÷गर्भपतन हुने, छाला उत्पादन कम हुने जस्ता जोखिम हुने उनको भनाइ छ । 

रोग निको भएका पशुमा समेत दीर्घकालीन असर रहिरहने खतरा हुने भएकाले समयै लम्पी स्किन रोगको उपचार गराउनु पर्ने चिकित्सहहरुको जोड छ । 

चिकित्सकहरुका अनुसार यो रोग लागेका पशुको उपचारपछि पनि साँढे तथा राँगामा प्रजनन् क्षमता नआउने, गाईमा लामो बेतान्तर (लामो समयपछि मात्र व्याउने), दूध उत्पादनमा ५० प्रतिशतसम्म कमी आउने समस्या हुन्छ । 

यो विकराल समस्या भएको भन्दै परिषदले सरकारलाई पटक पटक पशु चिकित्सकको पर्याप्त व्यवस्था गर्न, खोप तथा उपचार कार्यक्रमलाई अभियानका रुपमा अघि वढाउन सचेत गराउँदै आएको छ । 

तर सरकारले हालसम्म लम्पी स्किन रोगको उपचारमा त संवेदनशीलता देखाएको छैन नै, क्षतिपूर्तिका लागि कानुन समेत बनाएको छैन । 

नेपालमा हाल ७४ लाख १३ हजार १९७ वटा गाई र ५१ लाख ३२ हजार ९३१ वटा भैसी गरी १ करोड २५ लाख ४६ हजार १२८ वटा गाइभैँसी पालन भइरहेको पशु चिकित्सा परिषदको तथ्यांकमा उल्लेख छ । 

 
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update