Odapalika - The Fourth Estate - चौथो अंग
नेपालको भैँसी नीतिः दूध खान भारतबाट मुर्रा ल्याउने, पैसा कमाउन चीनमा राँगाको मासु बेच्ने !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जारी चीन भ्रमणका क्रममा नेपालबाट राँगाको मासु चीनमा बिक्री वितरण गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ । 

यसअघि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा दूधका लागि भारतमा चर्चित मुर्रा भैँसी नेपाल ल्याउने विषयमा सहमति गरेका थिए । 

त्यसबेला विगतको सहमतिको निरन्तरता दिदै भारतले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा भैँसी नेपाललाई दिएको थियो । 

चीन भ्रमणका क्रममा १२ सहमति र १ समझदारी गरेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोलीले नेपालबाट भैँसीको मासु चीन निर्यात गर्ने प्रक्रिया तत्काल अघि वढाउने सैद्धान्तिक सहमति गरेका छन् । 

यो सहमति कार्यान्वयन भए नेपालको व्यापार घाटा घट्ने नेपाली अधिकारीहरुको भनाइ छ । हाल चीनमा प्रत्यक्ष रुपमा नेपालबाट मासु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँदैन । 

चीनले नेपालबाट घाँस भने लैजाने गरेको छ । भरतपुर नगरपालिकाको पहलमा चीनमा अहिले घाँस निर्यात भइरहेको छ । सडकमार्ग हुँदै चितवनका कृषकले उत्पादन गरेको घाँस चीनसम्म पुगिरहेको छ । 

पछिल्लो सहमति कार्यान्वयनमा गए नेपालले दूधका लागि भारतबाट भैँसी ल्याउने र चीनमा भने राँगाको मासु बेच्ने छ । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update