Odapalika - The Fourth Estate - चौथो अंग
एमविविएस गर्न लागेको पैसा उठाउन १०० वर्ष जागिर खानुपर्छ डाक्टरले

एक जना ज्योतिष मित्र छन् मेरा । उनी डाक्टर बन्नको लागि जन्मकुण्डलीमा डाक्टर योग पर्नुपर्ने बताउँछन् । पहिलो पटक उनले डाक्टर योगको कुरा गर्दा मलाई अचम्म लागेको थियो ।

र, सोधको थिएँ– के हो डाक्टर योग भनेको ? कस्तो भयो भने डाक्टर योग परेको भनिन्छ ?

उनले भनेका थिए– अन्य ग्रहको अवस्थितिले पनि सहयोग गर्नुपर्छ । तर, पहिलो शर्त भनेको सूर्य र शनि ग्रह ठ्याक्कै १८० डिग्रीको कोणमा हुनुपर्छ । 

सबै डाक्टरको जन्मकुण्डलीमा यस्तै योग परेको हुन्छ कि हुँदैन, मलाई थाहा छैन । मलाई अचेल कस्तो महसुस हुन थालेको छ भने जसको जन्म कुण्डलीमा कार्यक्षेत्रमा कुटाइ खानै पर्ने योग परेको हुन्छ, त्यो मान्छे चै डाक्टर बन्छ, बन्छ ।

तथ्यांकले पनि यो कुराको पुष्टि गर्छ । नेपाल मेडिकल एसोसिएसनका अनुसार २०७९ को भदौयता डाक्टरमाथि ९ वटा आक्रमणका घटना भएका छन् । अर्थात एक वर्षको अवधिमा ९ चोटी डाक्टर कुटिएछन् ।

यो वर्ष सुरु भएपछि डाक्टरमाथिको आक्रमणका घटना अत्याधिक बृद्धि भएका तथ्यांकले देखाएको छ । जस्तो कि २०८०  सालको जेठ ९ गते सिन्धुली अस्पतालमा भर्ना भएका एक विरामीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने देखियो । यस्तो अवस्था आएपछि डाक्टरहरुले विरामीका आफन्तसँगको छलफल अनुसार अर्काे अस्पतालमा रिफर गरे । तर, यही विषयलाई लिएर अस्पतालमा तोडफोड गर्ने, डाक्टर तथा स्वास्थ्यकर्मीलाई मानसिक तनाव दिनेलगायतका हर्कत गरियो ।

काठमाडौँको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजमा गत जेठ २७ गते भर्ना भएका एक विरामीको उपचारकै क्रममा जटिल अवस्था आयो । त्यसपछि उनलाई आइसियुमा राखेर उपचार गराइयो । यही विषयलाई लिएर विरामीका आफन्तले अस्पतालमा तोडफोड गरे भने डाक्टर तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे ।

भदौ २७ गते हेटौडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरद्वय विकास थापा र प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भयो । विरामीको उपचार गरिरहेको समयमा उनीहरुमाथि आक्रमण गरिएको थियो ।

गत असोज ४ गते कोशी अस्पताल विराटनगरको इमर्जेन्सी विभागमा कार्यरत डाक्टरमाथि पनि हातपात तथा अभद्र व्यवहार भयो । असोज ५ गते चौराहा अस्पतालमा कार्यरत डाक्टर केआइसिंह केसीलाई पनि अभद्र व्यवहार गरियो ।

असोज ७ गते त वडाध्यक्ष नै डाक्टरको हुर्मत लिन आइपुगे । सो दिन लमजुङको बेसीशहर नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष ऋषि बस्नेतले डाक्टर सन्दीप अधिकारीलाई गालीगलौज गर्दै शारीरिक हमला पनि गरेका थिए । उनले मादक पदार्थ सेवन गरी डाक्टरमाथि आक्रमण गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यस्तै असोज ८ गते पोखराको मणिपाल अस्पतालका आवासीय डाक्टरमाथि भौतिक आक्रमण भयो ।

यी केही प्रतिनिधि घटना केलाउँदा आममानिसले डाक्टर भनेका कुटाइ खानै पर्ने पेशाका मान्छे हुन् भन्ने जस्तो बुझ्छन् कि के हो जस्तो देखिन्छ । अनि अस्पताल भनेका मनलागेका बेलामा तोडफोड गर्न पाइने ठाउँ जस्तो ।

तर, सजिलै कोही पनि डाक्टर बन्न सक्दैन ।

डाक्टर बन्नको लागि कम्तिमा पनि एमविविएस अध्ययन पूरा गरेको हुनुपर्छ । र, प्रत्येक वर्ष करिब २ हजार व्यक्तिले मात्रै एमविविएस पढ्न पाउँछन् । किनभने नेपाल सरकारले तोकेको कोटा नै त्यति हो ।

पहिलो कुरा त एमविविएस पढ्न चाहने, सक्ने र पढाउन सक्नेले पनि कोटाको कारण खुम्चिनु पर्ने अवस्था छ । एमविविएस अध्ययनको लागि योग्य हुन स्वास्थ्य शिक्षा आयोगले लिने प्रवेश परीक्षामा मेरिट लिष्टमा अगाडी पर्नुपर्छ । 

दोस्रो, एमविविएस अध्ययन गर्नको लागि पैसा पनि निकै लाग्छ । नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष डाक्टर लोचन कार्कीका अनुसार एमविविएस सक्न कम्तिमा पनि ५० लाख रुपैयाँ खर्च लाग्छ । यो साढे ५ वर्षको कोर्ष हो । यसमध्ये साढे ४ वर्ष अनिवार्य रुपमा पढ्नुपर्छ भने बाँकी एक वर्ष इन्टर्न गर्नुपर्छ ।

एमविविएस गरेको डाक्टरलाई नेपाल सरकारले जागिर दियो भने आठौं तहमा दिन्छ । यो पदको मासिक तलब जम्मा ४८ हजार रुपैयाँ मात्रै हो । ल यो ४८ हजारलाई सजिलोको लागि ५० हजार मानौं । त्यसो हुँदा ५० लाख खर्च गरेर एविविएस पढेको डाक्टरले मासिक ५० हजार रुपैयाँ तलब पाउने भयो । अर्थात एविविएस गर्दा लागेको पैसा उठाउन मात्रै डाक्टरले १०० वर्ष जागिर खानुपर्ने रहेछ ।

त्यसपछि विशेषज्ञ डाक्टर बन्नको लागि फेरि पढ्नुपर्छ । यसको कोर्ष ३ वर्षको हुन्छ । विशेषज्ञ डाक्टर बन्ने कोर्ष अध्ययन गर्न करिब २२ लाख रुपैयाँ लाग्छ । तर, उपकरण लगायतमा हुने खर्चसमेत जोड्दा फेरि ५० लाख रुपैयाँ सकिने पूर्वअध्यक्ष डा. कार्की बताउँछन् । अब तपाईं आफै हिसाव गर्नुस्– टोले गुण्डाको हातबाट कुटाइ खानकै लागि ८ वर्षको समय लगाएर १ करोड खर्च गरेर कोही किन विशेषज्ञ डाक्टर बन्ने ?

सरकारी छात्राबृत्तिमा एमविविएस अध्ययन गर्नेको संख्या निकै सानो हुन्छ । जस्तो कि धरान, पाटन र टिचिङ अस्पतालमा प्रत्येक वर्ष ७५/७५ जनाले सरकारी छात्रबृत्तिमा एमविविएस पढ्न पाउँछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३७ जनाको कोटा छ । भरतपुर र मणिपालमा २०/२० जनाले एमविविएस पढ्न पाउँछन् । देवदह र जानकी मेडिकलले ५/५ जनालाई एमविविएस पढाउन पाउने व्यवस्था छ । बाँकी नेपाल मेडिकल, चितवन, नेपालगञ्ज, गण्डकी, नेसनल, भैरहवा, विराट, नोबेल जस्ता मेडिकल कलेजले प्रत्येक वर्ष १०/१० जनालाई छात्रबृत्तिमा एमविविएस पढाउँछन् । बाँकी सबैले ५० लाखसम्म तिरेर नै एमविविएस गर्ने हो ।

केही दशकअघिसम्म नेपालमा डाक्टरको सामाजिक सम्पत्ति थियो । अर्थात डाक्टरको इज्जत थियो । आज डाक्टरको इज्जत गरिदैन । कुट्न तम्सिनेहरुको संख्या बढ्दै छ । अध्ययनको खर्च बढिरहेको छ । अबसरहरु खुम्चदै छन् । जस्तो कि दुबईमा डाक्टरको सुरुवाती तलब नै १५ लाख रुपैयाँ छ । नेपालमा त केही निजी अस्पतालहरुमा मासिक १५÷१६ हजार रुपैयाँ पनि काम लगाउँछन् । 

डाक्टरलाई भौतिक सुरक्षा दिनुपर्छ भन्ने पनि सरकारले सोचेको देखिदैन । डाक्टरमाथि आक्रमण गर्नेहरुलाई कडाभन्दा कडा कानुनी कारवाही भएको छैन । अस्पतालहरु गुणगर्दी गर्नेहरुबाट टाडा राख्न सरकारले केही सोच बनाए जस्तो देखिदैन । मानव जीवनको लागि सबैभन्दा महत्वपूर्णमध्येको एक पेशाकर्मी डाक्टरमाथि दैनिक आक्रमण सामान्य घटना जस्तो मात्रै भएको छ ।

शरीरमा कुनै रोग लागेन, विरामी परिएन, आफन्तलाई उपचार गर्नु परेन भने त डाक्टरको कुनै महत्व बोध हुँदैन । डाक्टर किन चाहियो र भन्ने लाग्न सक्छ । तर, एकछिन डाक्टरविहिन अवस्थाको परिकल्पना गरौं त । अस्पतालको इमर्जेन्सी अघि ‘मेरो मान्छेलाई जसरी भएपनि बचाइदिनुस्, म जे गर्न पनि तयार छु’ भनेर आर्तनाद गर्नेहरुको संख्या सम्झौं । र, सँगै सम्झौं–डाक्टर पनि मान्छे नै हो । उसमा पनि मानवीय गुणहरु छन् । अर्थात, कहिले कमजोरी गर्छ, कहिले भावनामा आउँछ, कहिले रिसाउँछ । कहिले ठट्टा गर्छ । अर्थात सामान्य मान्छेले जे–जे गर्छन्, जस्तो खान्छन्, डाक्टरले पनि त्यसै गर्छन्, त्यस्तै खान्छन् । 

डाक्टरले घाम, पानी, जाडो, गर्मी, चाडपर्व, सबै अवस्थामा उपचार गरिरहेको हुन्छ । उसको सेवाभावको सम्मान गर्न सकिदैन भने कम्तिमा पनि भौतिक आक्रमण गर्ने जस्तो अमानवीय र गैरकानुनी कार्य गर्नु हुँदैन ।

यो लेख तयार पार्दै गर्दा सहकर्मी डिल्ली आचार्यका एक आफन्तको फोन आयो । उनी डाक्टर रहेछन् । र, आज नै ती डाक्टरको अमेरिकाको भिसा लागेको उनी फोनमा सुनाउँदै थिए । 

मेरा ज्योतिष मित्रलाई भेटेंको बेलामा भन्नुपर्ने नयाँ विषय बनेको छ । त्यो के भने डाक्टर बनेपछि जन्मकुण्डलीमा नयाँ योग बन्छ । त्यो योग भिसा योग हो, देश छोड्नै पर्ने योग हो । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update