Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट ५ दिनसम्म भृकुटीमण्डपमा फर्निचर एक्स्पो, यस्ता छन् आकर्षण र अफर 

काठमाडौँ । भृकुटीमण्डपमा आजबाट नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) सुरु हुँदै छ । आयोजकका अनुसार एक्स्पोका लागि सबै तयारी पूरा भएको छ । 

‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने नाराका साथ आयोजना हुन लागेको एक्स्पोको सबै तयारी पूरा भएको फर्नेक्स नेपाल २०२३ का प्रवक्ता एवं नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)का महासचिव सञ्जय लामाले बताए ।

प्रवक्ता लामाका अनुसार एक्स्पोको उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री रमेश रिजालले आज  १ बजे उद्घाटन गर्नेछन् । १० देखि १४ असोजसम्म गरेर ५ दिन चल्ने चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टल राखिने छ । 

एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिने आयोजकको भनाइ छ । 

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए ।

निःशुल्क प्रवेश पाइने एक्स्पोमा सहभागी हुने व्यवसायीले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउनेछन् ।

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बीटुबी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको अध्यक्ष अग्रवालले जानकारी दिए । 

फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवर्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । एक्स्पो स्थलमा सामान खरिद गर्नका लागि खुल्ला बजार पनि सञ्चालन हुनेछ ।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ब्रान्डहरुको सहभागिता छ । अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ भने एक्स्पो स्थलमा नै वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update