Odapalika - The Fourth Estate - चौथो अंग
लम्पी स्किनलाई सरकारले महामारी घोषणा गरे किसानलाई नोक्सान

काठमाडौँ । अहिले नेपालका किसान लम्पी स्किन रोगका कारण तनावमा छन् । नेपालीले प्रमुख पेशाको रुपमा अपनाउने गरेको गाई–भैसी पालनमा यो रोगले ठुलो असर पारेपछि नेपाली तनावमा परेका हुन् ।

सरकारको आधिकारिक तथ्यांक अनुसार अहिले देशभरका ७१ जिल्लामा लम्पी स्किन रोग फैलिएको छ । यो रोगका कारण देशभरका करिब साढे ५ लाख गाई–भैसी संक्रमणमा परेका छन् ।

नेपालीलाई यति ठुलो असर पर्ने र देशभर फैलिएको यो रोगलाई सरकारले किन महामारी घोषणा गरेन भन्ने प्रश्न पनि उठेको छ । सरकारले यसलाई महामारी रोगको घोषणा गरी सोही अनुसारको कदम चाल्न आवश्यक रहेको धारणा पनि सार्वजनिक हुन थालेका छन् ।

तर, किसानलाई क्षतिपूर्तिको रुपमा सरकारले रकम उपलब्ध गराउन नसक्ने हो भने लम्पी स्किनलाई महामारी घोषणा नगर्दा नै किसानको हित हुने देखिन्छ । सरकारले लम्की स्किन रोगलाई महामारी घोषणा गरेमा त्यस्तो रोग लागेका गाई–भैसीको उपचार खर्च बीमा कम्पनीबाट नपाइने सरोकारवालाले बताएका छन् ।

‘अहिलेसम्म लम्पी स्किनलाई सरकारले महामारी घोषणा गरेको छैन । त्यसैले कृषि तथा पशुबाली बीमा गराएका किसानले यो रोग लागेका गाई–भैसीको उपचार खर्च र मरेमा क्षतिपूर्ति पाउँछन् । तर, सरकारले यसलाई महामारी घोषणा गर्यो भने बीमा गराएको छ भने पनि उपचार खर्च वा मरेपछि क्षतिपूर्ति पाइदैन । बीमाले महामारीको क्षतिपूर्ति दिदैन,’ बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले वडापालिकासँग भने ।

मान्छेमा यसअघि देखिएको महामारीमा पनि बीमा दाबी भुक्तानी विवादमा परेको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोभिड–१९ मा क्षतिपूर्ति दिने गरी बीमा समितिले कोभिड बीमा कार्यक्रम संचालन गरेको थियो । तर, सरकारले दिनुपर्ने दाबी भुक्तानी नगरेपछि कोभिड बीमा गराएका नेपालीले दाबी पाउने अवस्था सिर्जना हुँदा पनि रकम पाएका छैनन् ।

त्यसैले अहिले सरकारले लम्पी स्किनलाई महामारी घोषणा गरेन भने बीमा कम्पनीबाट किसानले क्षतिपूर्ति पाउँछन् । तर, महामारी भनियो भने दाबी भुक्तानी पाइदैन ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update