Odapalika - The Fourth Estate - चौथो अंग
‘विकास गर्न हतार गर्दा’ बनको हिरासतमा पुगे वडाध्यक्ष तुल्से ओली

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष तुल्से ओली पक्राउ परेका छन् । 

मनोमानी ढंगले बन फडानी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । चौरजहारी नगरपालिका–११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको ३५ वटा सल्लोको रूख फडानी गरेको आरोप वडाध्यक्ष ओलीमाथि छ । सोही अभियोगमा उनी डिभिजन बन कार्यालय रुकुम पश्चिमको हिरासतमा छन् ।

तर, वडा कार्यालयका कर्मचारीहरु भने छिटो विकास गर्ने वडाध्यक्ष ओलीको चाहनाको कारण उनी फसेको बताउँछन् । कर्मचारीहरुका अनुसार चौरजहारी नगरपालिकाको वडा नम्बर ११ को टाटाबाट सर्केना हुँदै जोगिनेटासम्म बिद्युत लाइन बिस्तार गर्ने कार्य भइरहेको थियो । विद्युत लाइन विस्तारका लागि वडाध्यक्ष ओलीले सम्बन्धित निकायहरुमा आवश्यक कागजात पेश गरेका पनि थिए । तर, सम्बन्धित निकायहरुबाट अनुमति नआउँदै बन फडानी गर्न आदेश दिएको कारण उनी पक्राउ परेका छन् ।

‘टाटाबाट सर्केना हुँदै जोगिनेटासम्म विद्युत लाइन विस्तार गर्ने कार्यक्रम थियो । यसको लागि केही रुख काट्नु पर्ने थियो । रुख काट्नको लागि वडाध्यक्षले सम्बन्धित निकायमा कागजात बुझाउनु भएको पनि हो । तर, ती निकायबाट अनुमति नआउँदै उहाँले रुख काट्न आदेश दिनुभयो ।  हतार नगरी केही समय अनुमति पर्खनु भएको भए उहाँलाई यो अभियोग लाग्ने थिएन,’ चौरजहारी नगरपालिकाको वडा नम्बर ११ का एक कर्मचारीले वडापालिकासँग भने ।

वडाध्यक्ष ओली मंगलबार आफै बन कार्यालय गएका पनि ती कर्मचारीले बताए । उनलाई बन कार्यालय गएपछि पक्राउ गरेर हिरासतमा राखिएको छ ।

बन कार्यालयले वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ बर्षीय दिलबहादुर शाहलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update